Kathmandu Press

भारतको प्रतिबन्धले राजधानीका भान्सामा गाउँकै प्याज

भारतले निर्यातमा रोक लगाएपछि काठमाडौंका भान्सामा गाउँकै प्याज पुग्न थालेको छ। एक सातामै मोफसलबाट ५० हजार केजी प्याज राजधानी आएको छ।
भारतको प्रतिबन्धले राजधानीका भान्सामा गाउँकै प्याज


काठमाडौं, असोज १० : भारतले रोक लगाएपछि काठमाडौंका भान्सामा गाउँको प्याज पुग्न थालेको छ। गत एक सातामा तराईसँगै पहाडी जिल्लाबाट ५० हजार केजी प्याज राजधानी भित्रिएको छ।

कालीमाटी तरकारी तथा फलफूल बजारमा प्रायः भारतबाटै प्याज आउने गरेको थियो। यतिबेला भने उपत्यका बाहिरका जिल्लाबाट प्याज आयात भइरहेको कालीमाटीका बरिष्ठ बजार अधिकृत मनोज धितालले बताए। ‘भारतबाट प्याज आयात रोकिएपनि तराई र काठमाडौं आसपासका जिल्लाबाट आएको छ। काठमाडौंमा प्याजको अभाव हुने अवस्था छैन,’ धितालले भने।

धेरैजसो प्याज तराईका जिल्लाबाट आएको छ। त्यस्तै, बाढी र पहिरोका कारण बाटो अवरुद्ध हुँदा असारयता पहाडी जिल्लामा रोकिएको प्याज पनि यसपटक काठमाडौं आएको छ। धादिङ, मकवानपुर, चितवन, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुलीलगायतका पहाडी जिल्लाबाट प्याज आइरहेको उनले बताए।

Hardik ivf

कालीमाटी तयारी तथा फलफूल बजारको तथ्यांकअनुसार, असोज १ गते पाँच हजार केजी, असोज २ गते तीन हजार ६ सय आठ केजी, असोज ३ गते पाँच हजार दुई सय १३ केजी र असोज ४ गते नौ सय ८८ केजी प्याज आयात भएको छ।

त्यस्तै, असोज ५ गते २४ हजार दुई सय ८० केजी, असोज ६ गते ११ हजार केजी र असोज ७ गते ६ सय ८४ केजी प्याज आएको बजार अधिकृत धितालले बताए।

तराई र पहाडी जिल्लाबाट प्याज आयात भइरहेकाले काठमाडौं उपत्यकामा हल्ला गरेजस्तो अभाव नभएको उनको भनाइ छ। ‘प्याजको मूल्य बढ्ने आशले केही व्यापारीले प्याज लुकाएका छन्। त्यसैले अभाव भएजस्तो देखिएको हो। आउनुपर्ने जति प्याज आएको छ, अभाव भएको छैन,’ बजार अधिकृत धितालले भने।

कालीमाटी तरकारी तथा फलफूल बजारमा प्याजको मूल्य बढेको पनि छैन। शुक्रबार प्रतिकेजी एक सय पाँच रुपैयाँमा बिक्री भएको छ। जबकी भदौ अन्तिमतिर एक सय १८ रुपैयाँसम्म पुगेको थियो। भारतले प्रतिबन्ध लगाउनु अघि भने प्रतिकिलो ५० रुपैयाँको हाराहारीमा बिक्री भइरहेको थियो।

भारतबाट दैनिक २५ हजार केजीसम्म प्याज आउने गरेको थियो। तर, पछिल्लो समय देशका विभिन्न जिल्लाबाट आउन थालेकाले कमि नभएको बजार अधिकृत धितालले बताए। पछिल्लो सयम खपतमा पनि कमि आएको उनले बताए।

प्याजमात्रै होइन, अन्य तरकारीको पनि काठमाडौंमा खपत घटेको छ। कोरोना भाइरसको कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले गर्दा बेरोजगार बनेपछि धेरैजसो मानिस गाउँ फर्केकाले पनि तरकारीको खपत घटेको जनाएको छ।

कालीमाटी तरकारी तथा फलफूल बजारबाट काठमाडौंमा आपूर्ति हुने तरकारी घटेको बजार विकास समितिले जनाएको छ। खपत कम भएपछि तरकारीको आयात पनि घटेको छ। गत ६ दिनमा १४ सय टन बराबरको तरकारीमात्रै आयत भएको छ।

कालीमाटी तरकारी तथा फलफूल बजारको तथ्यांकअनुसार, बिहीबार अर्थात असोज ७ गते एक सय ८३ टन तरकारी आयात भएको छ। त्यस्तै, असोज ६ गते तीन सय टन, असोज ५ गते चार सय ४८ टन, असोज ३ गते दुई ३७ टन र असोज २ गते दुई सय ३२ टन मात्रै तरकारी आएको छ। ्

जबकी कोरोना महामारी अघि दैनिक सात सयदेखि नौ सय टनसम्म तरकारी आयात हुने गरेको थियो। ‘उपत्यकामा भाडामा बस्ने कम भएकाले तरकारी धेरै खपत नभएको हो,’ बजार अधिकृत धितालले भने। राजधानीमा खपत नहुँदा आयत कम गरिएको उनले बताए।

दशैं नजिकिँदै गएको र सार्वजनिक यातायात खुल्न थालेपछि काठमाडौं छोड्नेको संख्या अझ बढ्न थालेको छ। रोजगारी गुम्दा र व्यवसाय बन्द हुँदा यसअघि नै थुप्रै मानिसले राजधानी छोडेका थिए। महानगरीय ट्राफिक प्रहरीको तथ्यांकअनुसार, लकडाउनको अवधिमा नौ लाख मानिसले उपत्यका छोडेका थिए।

प्रकाशित मिति: १४:४६ बजे, शनिबार, असोज १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्