Kathmandu Press

गुड्दै गरेको बस पहिरोले बगायो, एकको मृत्यु, ६ घाइते

नवलपुर, असोज ९ : पहिरोले बगाउँदा गुड्दै गरेको यात्रुबाहक बस भीरबाट खसेको छ। बस भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ६...
गुड्दै गरेको बस पहिरोले बगायो, एकको मृत्यु, ६ घाइते
पहिराेले बगाएकाे बस। तस्बिर साैजन्य : नेपाल प्रहरी, नवलपुर

नवलपुर, असोज ९ : पहिरोले बगाउँदा गुड्दै गरेको यात्रुबाहक बस भीरबाट खसेको छ। बस भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

नवलपुरको दाउन्नेमा पहिरोले गुड्दै गरेको बस भीरबाट खसेको हो। विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक पहिरोसँगै सडकबाट बस भीरमा खस्दा बसमा सवार रुकुम पश्चिमको आठबीसकोट गाउँपालिका–१० का २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार बस भीरबाट खस्दा हरिशचन्द्र गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९४० नम्बरको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो। पहिरोेका कारण बस खस्दा अन्य ६ जना घाइते भएका छन्। घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ।

बसमा १८ जना यात्रु सवार थिए। अन्य यात्रु सामान्य घाइते भएको र गएराति नै घर फर्किएको प्रहरीले जनाएको छ।

यसैबीच दाउन्ने सडकखण्डमा पहिरो जाँदा राजमार्ग बन्द भएको छ। गएराति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन गरिएको भएपनि पुनः पहिरो खस्दा आज बिहान ३ बजेदेखि सडक अवरुद्ध भएको हो।

अहिले पहिरो पन्छाएर राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक खाँणले बताए। पहिरो पन्छाउने क्रम जारी रहेको उनको भनाइ छ।

प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्