Kathmandu Press

राष्ट्रपतीय निर्वाचनप्रति उत्साही छैनन् अश्वेत अमेरिकन, ट्रम्पको बहिर्गमन नै उनीहरुको आकांक्षा

अश्वेत अमेरिकी मतदातालाई आकर्षित गर्न यो मुद्दाको सम्बोधन सुनिश्चित हुनै पर्छ। यो विषय अहिले राष्ट्रपतीय निर्वाचनका उम्मेदवारद्वय डोनाल्ड ट्रम्प र जो बाइडनका लागि कठिन बनेको छ। 
राष्ट्रपतीय निर्वाचनप्रति उत्साही छैनन् अश्वेत अमेरिकन, ट्रम्पको बहिर्गमन नै उनीहरुको आकांक्षा

काठमाडौं, असोज २ : अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएपछि यो वर्ष वर्ण असमानताको बहस अमेरिकामा चुलियो। फ्लोडको बर्बरतापूर्ण हत्याको विरोधमा वृहत प्रदर्शनमा न्यायको मागसँगै प्रहरीको सुधारको विषय पनि उठ्यो। 

अश्वेत अमेरिकी मतदातालाई आकर्षित गर्न यो मुद्दाको सम्बोधन सुनिश्चित हुनै पर्छ। यो विषय अहिले राष्ट्रपतीय निर्वाचनका उम्मेदवारद्वय डोनाल्ड ट्रम्प र जो बाइडनका लागि कठिन बनेको छ। 

असहिष्णु शैली देखाएका ट्रम्पलाई अश्वेत अमेरिकी नागरिकहरुले रुचाएका छैनन्। मतको अध्ययन गर्दा  शालिन शैलीका बाइडनका पक्षमा अश्वेत अमेरिकीको ७८ प्रतिशत मत छ। 

'अधिकांश अश्वेत अमेरिकी नागरिकहरुले जो बाइडनलाई समर्थन गर्नेछन्," हावर्ड विश्वविद्यालयमा राजनीतिक शास्त्रका प्राध्यापक रवि पेरी भन्छन्।

तर महामारीका कारण रोजगारी गुमाएका कारण निर्वाचनप्रति उनीहरुको उत्साह निकै कम छ। पेरीका अनुसार अश्वेत अमेरिकी महिलाहरु खुलेरै बाइडनको पक्षमा देखिनेछन् भने युवाहरुले बाइडनलाई त्यति उत्साहजनक ढंगले समर्थन गर्ने छैनन्। अश्वेत अमेरिकी नागरिकहरुलाई आफ्नो पक्षमा पार्न ट्रम्प र बाइडन दुवैले अभियान तीव्र बनाएका छन्। 

गत महिना दुवैले किनोशा, विस्कोशिनमा भ्रमण गरेका छन्। ती क्षेत्रमा अश्वेत अमेरिकीहरुको अधिकारका लागि वृहत प्रदर्शन भएको थियो। किनोशास्थित चर्चमा बाइडनले ज्याकोब ब्लेकका परिवारलाई भेटे। ब्लेक ती व्यक्ति हुन् जसलाई पक्राउ गर्न सात राउन्ड गोली चलाएको थियो। यो घटना पनि वर्ण विभेदकै कारक थियो। भेटमा बाइडनले अश्वेत अमेरिकीका अधिकारका लागि गरिएको प्रदर्शन सही भएको र यसले संस्थागत रुपमा भइरहेका वर्ण विभेदलाई अन्त्य गर्न सघाउ पुर्याइउने बताएका  थिए।

यता ट्रम्पले भने कसैलाई पनि भेटेनन्। आफ्नो भाषणका क्रममा उनी प्रदर्शनप्रति असहिष्णु सुनिए। अमेरिकी कानूनको अवज्ञा गर्दै भएको प्रदर्शन नाजायज भएको प्रतिक्रिया दिए। 

तथ्याङ हेर्ने हो भने सन् १९६० देखि हालसम्म भएका निर्वाचनमा अश्वेत अमेरिकीले डेमोक्रेटिक पार्टीलाई समर्थन गरेका छन्। यसको कारक हो डेमोक्रेटिक पार्टीले मतदानका क्रममा देखिएका विभेदललाई अन्त्य गर्न कानून ल्याएको थियो। त्यसपछि मतदानका क्रममा वर्णका आधारमा मतदाता विभाजन गर्ने परम्परा अमेरिकामा अन्त्य गराएको थियो। 

सन् २००८ र २०१२ मा बाराक ओबामालाई राष्ट्रपतिमा निर्वाचित गराउँदा पनि उनीहरुले यसलाई निरन्तरता दिइरहे। तर सन् २०१६ मा डेमोक्रेटिक पार्टीबाट उठेकी हिलारी क्लिन्टनका पालामा अश्वेत अमेरिकी नागरिकहरुले डेमोक्रेटिक पार्टीप्रति विगतको जस्तो सहानुभूति राखेनन्।

क्लिन्टनविरुद्ध ट्रम्पले बाजी मार्दा डेमोक्रेटिक  पार्टीका लागि अश्वेत अमेरिकी मतदाताको मत ६ प्रतिशतले कम थियो। ट्रम्प अहिले पनि अश्वेत अमेरिकी नागरिकको सहानुभूति  आफूतर्फ होस् भन्ने चाहना राख्छन्। तर उनका उच्छृङ्खल र असहिष्णु अभिव्यक्तिले उनको चाहनालाई सहजै सार्थक बनाउन दिने छैन। हालसालै भएको मत सर्वेक्षण अनुसार १३ प्रतिशत अश्वेत मतदाताले मात्रै ट्रम्पलाई मतदान गर्ने योजना बनाएका छन्।

गत अगष्टमा भएको सम्मेलनमा बोल्दै रिपब्लिकनका तर्फबाट अश्वेत अमेरिकीहरुको प्रतिनिधित्व गर्दै सिनेटर बनेका टिम स्कोटले भनेका छन्-''कटन खेतीदेखि कंग्रेसमा प्रतिनिधित्व गर्ने व्यक्ति मै हुँ। ट्रम्पको कार्यकालमा अश्वेतलाई सीमान्तकृत होइन सशक्त बनाउन खोजिएको छ।"

अन्य अश्वेत अधिकारकर्मीहरुले पनि सम्मेलनमा मन्तव्य राखेका थिए। रिपब्लिकनतर्फ मत आकर्षित गर्न उनीहरुले भनेक थिए- 'अश्वेतलाई स्थान दिँदै सशक्त बनाउन लागि परेका ट्रम्पप्रति र उनले अवसर दिँदा कंग्रेसमा प्रतिनिधित्व गर्न सफल भएका आफ्ना मुलका प्रतिनिधित्वप्रति शंका छ भने त्यो व्यक्ति अश्वेत हुन सक्दैन।

मत सर्वेक्षणकर्ता वुर्डवरीका अनुसार यो निर्वाचनमा ट्रम्पले अश्वेत अमेरिकी नागरिकको मतलाई विजयको बाटोका रुपमा लिएका छन्। 
ट्रम्पले अश्वेत अमेरिकीका मतलाई निर्णायक ठानिरहँदा उनलाई ह्वाइट हाउसबाट हटाउन अश्वेत मतदाताले उनीविरुद्ध मत खसाल्ने निर्णय लिन सक्ने जानकारहरु बताउँछन्।

यसको अर्को कारण छ- बाराक ओबामाप्रतिको खेद। उनले ओबामालाई जिताउन भूमिका निर्वाह गर्ने अश्वेत अमेरिकीहरु मूर्ख हुन् भन्ने प्रतिक्रिया समेत दिएका थिए। सानफ्रान्सिस्को विश्विद्यालयका प्राध्यापक जेम्स टेलोर भन्छन्-'ट्रम्पको ह्वाइट हाउसबाट वैधानिक बहिर्गमनका खातिर अश्वेत अमेरिकीहरु उनीविरुद्ध जरुर खुल्नेछन्।'

जर्ज फ्लोइडको हत्यापछि अमेरिकामा उठेको विषय हो प्रहरीमा बजेटको कटौती। ट्रम्पले त यो मागको शक्त विरोध गरिसकेका छन्। यता बाइडेनले पनि त्यो माग पूरा हुन नसक्ने बताइसकेका छन्। 'प्रहरीको बजेट कटौती गर्ने माग मबाट सम्बोधन हुन सक्दैन,' उनको भनाइ छ। बाइडनले तीन अर्ब अमेरिकी डलर लगानी प्रहरीका लागि बढाउने योजना अघि सारेका छन्।

एक सर्वेक्षणका अनुसार ७० प्रतिशत अश्वेत अमेरिकी प्रहरीको बजेट कटौतीको पक्षमा छन्। बाइडेनले आफ्नो अडान यथावत राखेको अवस्थामा उनको मत घट्ने सर्वेक्षणकर्ताहरु बताउँछन् तर अश्वेतहरुको मत आफूतर्फ आकर्षित गर्न बाइडेनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाएका छन्।

"कमला ह्यारिसलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने बाइडेनको कदमले अश्वेत मतदातामा उत्साह पनि छाएको छ,' ब्ल्याक भोटर्स म्याटर्सका अभियन्ता क्लिफ अलब्राइटले भने। कोरोना भाइरसका कारण अमेरिकामा १ लाख ९२ हजारको ज्यान गएको छ। महामारीका कारण अझ बढी अश्वेत अमेरिकीहरु प्रताडीत छन्। महामारीका कारण वितृष्णामा रहेका अश्वेत मतदातामध्ये केहीले मतदान नगर्ने सम्भावना पनि छ।

तर अलब्राइटका अनुसार ट्रम्पको बहिर्गमनका लागि वितृष्णाका बाबजुद अश्वेतहरुले मत खसाल्नेछन्। 'ट्रम्पको कार्यकालमा हामीले धेरै कष्ट ब्यहोर्नु पर्योज। अब के गर्दा राम्रो हुन्छ भन्ने निष्कर्षमा हामी पुगिसकेका छौँ,' उनले भने।

अश्वेत अमेरिकी नागरिकलाई स्पष्ट थाहा छ अबको निर्वाचनबाट जो आएपनि उनीहरुको जीवनमा परिवर्तनको आभाष हुने छैन। किनकि कुनै पनि उम्मेदवारले उनीहरुको जीवन परिवर्तनका योजना अघि सारेका छैनन्। तर अश्वेत अमेरिकीप्रति असहिष्णु देखिएका ट्रम्पको ह्वाइट हाउसबाट बहिर्गमन हेर्ने अश्वेत अमेरिकीको ठूलो धोको छ। 

-अलजजिराबाट
 

प्रकाशित मिति: ०७:५४ बजे, शुक्रबार, असोज २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्