Kathmandu Press

‘दलित अधिकार मार्क्सवादी, दक्षिणपन्थी र समाजवादीले दिलाउन सकेनन्, अम्बेडकर नै निर्विकल्प हुन्’

सामाजिक र राजनीतिक रुपमा संरक्षित तबरले भइरहेका जातीय उपेक्षाविरुद्ध युवा अग्रसर हुनुपर्छ र मनोविज्ञान बदल्न भूमिका निर्वाह गर्नु पर्नेछ। स्थापित मान्यतालाई चुनौती नदिएसम्म त्यसको सहज निराकरण हुँदैन। त्यसका लागि संघर्ष गर्न जरुरी हुन्छ।
‘दलित अधिकार मार्क्सवादी, दक्षिणपन्थी र समाजवादीले दिलाउन सकेनन्, अम्बेडकर नै निर्विकल्प हुन्’

भारतको जवरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक हुन्, यशदत्त अलोनी। भारतीय संविधान निर्माता डा.भीम राँव अम्बेडकरका अनुयायी अलोनीले जातीय व्यवस्थाबारे विभिन्न अनुसन्धान गरेका छन्। उनी राज्यमा संरक्षित जातीय उपेक्षा नहटेसम्म दलित अधिकारको पूर्ण प्राप्त नहुने मत राख्छन्। उनले भन्दै आएको संरक्षित जातीय उपेक्षा भनेको के हो? जातीय व्यवस्थाप्रति उनको दृष्टिकोण कस्तो छ ? यसको रुपान्तरण कसरी गर्न सकिन्छ ? र, दलित अधिकारकर्मीको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा गरिएको कुराकानी :

-संरक्षित जातीय उपेक्षाबारे तपाईंका अनुसन्धान केन्द्रित छन्, यो संरक्षित जातीय उपेक्षा भनेको के हो?

विभिन्न जातजाति र वर्ण मिलेर समाज बनेको छ। समाजमा सौहार्दता र सहकार्यको परिकल्पना गरिएको हुन्छ। तर, केही स्थापित मान्यताका कारण त्यो परिकल्पनाले सार्थकता पाउँदैनन्। जस्तो कि जातीय विभेद र छुवाछूत जस्ता निकृष्ट कार्य पनि समाजभित्र पर्छन्।

अब यस्ता कुराको अन्त्य हुनुपर्छ भनेर आवाज उठ्छ, अधिकारका लागि संघर्ष पनि हुन्छ। त्यस्ता आवाज र आन्दोलनलाई सम्बोधन गर्न खोजेको जस्तो पनि राज्यले गरिरहेको छ। त्यस्ता आन्दोलनलाई राज्यले पहिचान पनि दिन्छ। ती मागको  सम्बोधन राजनीतिक र प्रशासनिक निकायबाट हुन्छन्। त्यस्ता निकायमा सम्बन्धित समुदायको प्रतिनिधित्व सकभर गराइँदैन र संरक्षित जातीय उपेक्षा भनेको यही नै हो। जहाँ पहिचानको सुनिश्चितता वा आभाष गराउन खोजिन्छ तर प्रतिनिधित्वको सवालमा कुनै सुनिश्चितता हुँदैन। अधिकार प्राप्तिका लागि संरक्षित जातीय उपेक्षा जहिल्यै बाधक बन्छ।

-संरक्षित जातीय  उपेक्षा र पहिचानको राजनीतिलाई कसरी बुझ्ने?

पहिचानको राजनीतिको इतिहास निकै लामो छ। राजनीतिमा पहिचान मात्रै होइन, प्रतिनिधित्व पनि हुन जरुरी छ भन्ने मान्यता सर्वमान्य भइसकेको छ। प्रतिनिधित्व विनाको पहिचान भनेको उपेक्षा हो। त्यसैले अम्बेडकरले प्रतिनिधित्वको लागि संघर्ष गरेका थिए। राजनीतिक प्रतिनिधित्व सैद्धान्तिक रुपमा होइन भौतिक रुपमै हुनुपर्छ भन्ने अम्बेडकरको मान्यता थियो। पहिचानको राजनीति पनि उपेक्षासँगै जोडिन्छ। राजनीतिमा पहिचान दिलाउने तर प्रतिनिधित्व नदिलाउने स्थितिले त उपेक्षाकै अवस्था निम्त्याउँछ।

भारतमा विभिन्न जातीय पहिचानमा सभाहरु हुन्छन्। भारतमा कतै जातसभा कतै सैनी महासभा, माढीसभा हुन्छ। यस्तो पहिचानका सभाले राज्यलाई कुनै फाइदा हुँदैन। यसले समाजलाई विखण्डित बनाउँछ। राजनीतिलाई अस्थिर बनाउँछ भने अर्थतन्त्रलाई कमजोर बनाउँछ। पहिचानको राजनीति, राजनीतिक सशक्तिकरणको एउटा पाटोमात्रै हो । यसलाई नै मुलधार बनाइयो भने ज्यादै घातक सावित हुन्छ।

-जातबारे गान्धी र अम्बेडकरको धारणामा के फरक छ?

गान्धीले जातीय व्यवस्थाको समस्या छुवाछूतलाई मात्रै मान्दथें। छुवाछूत हटायो भने जातीय विभेद स्वत: हट्छ भन्ने उनको धारणा थियो। गान्धी वेदान्तिक हुन्। वेदले व्याख्या गरेका जातीय व्यवस्थालाई उनी छोड्नै सक्दैन्थे र छोडेनन् पनि । तर अम्बेडकर वेदान्तिक थिएनन्। त्यसैले उनले जातीय विभेदलाई र जातीय व्यवस्थालाई वृहत्तर रुपमा हेरे र छुवाछूतलाई मात्रै आधार मानेन्। उनले जातीय व्यवस्थालाई  भारतको सामाजिक समस्या हो यसलाई हटाउनुपर्छ भन्ने साहस गरे र त्यसविरुद्ध विभिन्न अभियान पनि चलाए।

अम्बेडकरले सन्  १९३५ मा जातीय व्यवस्था हटाउने उपायसहित ‘एनिलियशन अफ कास्ट’ भन्ने पुस्तक प्रकाशित गरेका थिए। जातको अवधारणामा गान्धी र अम्बेडकरका भाव कहिल्यै पनि समान भएनन्। उनीहरुको दर्शनलाई एकै स्थानमा राखेर जातीय व्यवस्था बुझ्न सकिँदैन। जातीय व्यवस्थाको दर्शनका सवालमा अम्बेडकर गान्धीका प्रतिपक्षी हुन्, जसले यो व्यवस्था निर्मूलका लागि राष्ट्रव्यापी अभियान समेत चलाएका थिए।

-जात व्यवस्थामा उपल्लो भनिएका वर्गको नायकत्व हटाउन दलित अधिकारकर्मीले के कुरामा ध्यान दिन आवश्यक छ?

जातीय व्यवस्थाविरुद्ध हुनेले उपल्लो भनिएका वर्गको नायकत्वलाई नकार्दै आइरहेका छन्। यसलाई हटाउन अम्बेडकरको दर्शनको पालनाबाहेक अन्य कुनै विकल्प छैन। एनिलियशन अफ कास्टमा अम्बेडकरले जातीय व्यवस्थाको जरोनै भत्काउनु पर्ने तर्क गरेका छन्। अम्बेडकरको चाहना जरोदेखि नै जातीय व्यवस्थालाई समाप्त पारेर नयाँ समाज निर्माण गर्नु हो। न्यायिक समाजको स्थापना गर्दै सबैको समान अधिकार सुनिश्चत गर्नु हो र सम्पूर्ण सामाजिक प्रणालीको प्रजातान्त्रिकरण अम्बेडकरको चाहना हो।

अम्बेडकरको दर्शनमा आधारित अभियानलाई सशक्त बनाउँदै उनको समतामुलक समाजको सपनालाई साकार पार्न दलित अधिकारकर्मीहरु लागि परेको अवस्थामा जातीय व्यवस्था अन्तर्गत उपल्लो तहमा वर्गीकृत समुदायको नायकत्वलाई हटाउन सकिन्छ। जब सबैको समान हक र अधिकारको सुनिश्चतता समाज हुन्छ र समतामूलक समाज निर्माण हुन्छ त्यहाँ कसैको पनि नायकत्व रहँदैन।

-अम्बेडकरका दर्शनले कस्ता रुपान्तरण ल्याएको छ?

अम्बेडकरको दर्शनलाई मान्नेहरुमा रुपान्तरण मैले पाएको छु। उनीहरुले पितृसत्ताको मान्यतालाई मान्दैनन्। उनीहरुमा अधिकारबारेको सचेतना छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्छ भन्ने जागरण छ। त्यसैले अधिकारको लडाइँमा महिला पुरुष सबैले समानरुपले सहभागिता जनाउँछन्। उनीहरुमा समतामुलक समाजको स्थापनाबारे चेतना छ। अम्बेडकरका दर्शन मान्नेहरु अरुका अधिकार खोसेर समान बन्न चाहँदैनन्, अरु सरह अधिकार प्राप्तिका लागि मात्रै संघर्षमा छन्।

-के दलितबीचकै विभाजनले पनि जातीय व्यवस्था हटाउन असहयोग गरेको छ?

जातीय व्यवस्थामा उपल्लो मानिएका मानिसहरुले समाजमा विभाजन ल्याएका छन्। उनीहरु मानिसको पहिचानलाई जातसँग जोड्छन्। यो निकै गलत छ। र, जो उनीहरुबाट प्रताडित छन्, त्यहाँभित्र पनि विभाजन छ। जब हामी जातका आधारमा हुने सामाजिक विभाजनविरुद्ध छौँ भन्ने हामी आफैँभित्रका विभाजनलाई पहिला रोक्नुपर्छ। त्यसपछि मात्रै एकतावद्धरुपमा सामाजिक, राजनीतिक र आर्थिक रुपमा दलित समुदायले भोगेका समस्याको निराकरण हुन्छ। विभाजनले एकतालाई जहिले पनि कमजोर बनाउँछ। र, उपल्लो भनिएका मानिसहरुले हामीलाई विभाजन गरेकै थिए। हामीभित्रै पनि विभाजनको अभ्यास अब अन्त्य हुनुपर्छ। यसले समतामुलक समाज निर्माणमा कुनै पनि हालतमा सहयोग पुर्‍याउँदैन।

-जातीय व्यवस्थामा स्थापित नायकत्वलाई कसरी बदल्न सकिन्छ?

समाजमा सामाजिक र राजनीतिक माध्यमबाट उपल्लो भनिएका जातको नायकत्व स्थापित गर्न खोजिन्छ। तर भारतको इतिहास हेर्ने हो भने त्यस्ता नायकत्वलाई चुनौती दिएका उदाहारण समेत छन्। अम्बेडकर आफैँमा त्यसका उदाहारण हुन्, जसले राजनीतिक र सामाजिक नायकत्वलाई चुनौती दिएका थिए। जातीय व्यवस्थाको नायकत्व मनोसामाजिक समस्या हो। यसलाई बदल्न मनोविज्ञान पनि बदल्न जरुरी छ।

समाजलाई आधुनिक बनाउन युवाहरु लागि परेका छन् तर सोचको आधुनिकीकरण विना समाजको आधुनिकीकरण सम्भव छैन। त्यसैले सामाजिक र राजनीतिक रुपमा संरक्षित तबरले भइरहेका जातीय उपेक्षाविरुद्ध युवा अग्रसर हुनुपर्छ र मनोविज्ञान बदल्न भूमिका निर्वाह गर्नु पर्नेछ। स्थापित मान्यतालाई चुनौती नदिएसम्म त्यसको सहज निराकरण हुँदैन । त्यसको लागि संघर्ष गर्न जरुरी हुन्छ।

-जातीय व्यवस्थालाई रुपान्तरण गर्न तपाईंका सुझाव के छन्?

जातीय व्यवस्थाको अन्त्यका लागि अम्बेडकरले सन् १९३६ मा तयार गरेको मार्गनिर्देशनबाट नै जातीय व्यवस्थालाई रुपमान्तरण गर्न सकिन्छ भन्ने मान्यता म राख्छु। भारतमा जातीय व्यवस्थाको अन्त्यका लागि न त मार्क्सवादीले पथ प्रदर्शन गर्न सके, न दक्षिणपन्थीहरुले गरे, न त समाजवादीहरुले नै केही नयाँ अवधारणा ल्याए। त्यसैले अम्बेडकरका सुझाव नै जातीय व्यवस्थाको रुपमान्तरणका लागि निर्विकल्प हो। धर्मको धारणाका आधारमा बनेको जातीय संरचना भत्काउनै पर्ने अम्बेडकरको भनाइ र चाहना छ। त्यो चाहना अझै पनि साकार हुन सकेको छैन। सामाजिक मनोविज्ञान परिवर्तन गर्दै अम्बेडकरका सिद्धान्तहरुलाई अनुशरण र कार्यान्वयन गर्दै जातीय व्यवस्थाको रुपमान्तरण हुनुपर्छ।

(दलित लाइभ्स म्याटर नेपालमा समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियारले अलोनीसँग गरेको काष्ट कन्भरसेशन सिरिजको अन्तर्वार्ता)
 

प्रकाशित मिति: १९:४३ बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्