सवारी चालकको पीडा : ‘न बस चल्छ, न त घरमा चुलो बल्छ’
सवारी चलाएरै दुई छोरी र एक छोरासहित पाँच जनाको परिवार पाल्दै आएका उनलाई अहिले दैनिक छाक टार्न हम्मेहम्मे परेको छ।काठमाडौं, भदौ २० : काभ्रे नमोबुद्धका कुमार तामाङको दैनिकी अहिले फेरिएको छ। झिसमिसेमै गाडीको स्टेरिङ समाउँदै दैनिकी सुरु गर्ने कुमार अहिले ललितपुरको बागडोलस्थित डेराभित्रै सीमित छन्।
कोरोनाको महामारीले पाँच महिनादेखि लामो दूरीका सवारी नचल्दा सवारी चालक कुमारको मात्रै होइन हजारौं चालकको दैनिकी कोठाभित्रै सीमति भएको छ। तीन दशकदेखि दैनिक काठमाडौं–इलामाको यात्रा गर्ने कुमार पाँच महिनादेखि एउटै कोठामा थुनिँदा भौतिक रुपमा मात्रै होइन, आर्थिक रुपमा पनि निसासिएका छन्।
‘न काम छ न माम छ भनेजस्तो भएको छ,’ उनले भने, ‘डेरामा थुनिँदा अत्यासमात्रै लागेको छैन, अब त हातमुख जोड्नै धौधौ भइसक्यो।’
काभ्रेका कुमार २५ वर्षदेखि काठमाडौंमा परिवारसहित डेरामा बस्दै आएका छन्। उनले लामो दूरीको सवारी चलाउन थालेको ३५ वर्ष पुगिसक्यो। कोरोना कहरका कारण बेरोजगार बनेका कुमार भन्छन्, ‘३५ वर्षको आम्दानीले पाँच महिना पनि धान्न सकेन।’
सवारी चलाएरै दुई छोरी र एक छोरासहित पाँच जनाको परिवार पाल्दै आएका उनलाई अहिले दुई छाक टार्न हम्मेहम्मे परेको छ। ‘३५ वर्षको मेहनतले पाँच महिना कोठामा बसेर बिना काम गुजारा चलाउन सकिन्नँ। यस्तो समयमा सरसापटी पनि कसैले पत्याउँदैनन्,’ उनले भने।
कोरोनाको महामारी बढिरहेकाले जनजीवन अझै केही महिना सामान्य हुने अवस्था छैन। कुमार भन्छन्, ‘यस्तै रहिरह्यो भने अब घरमा चुलो बाल्न सक्ने अवस्था समेत हुँदैन।’
तलबभत्ता गरेर कुमारले मासिक ३०÷३५ हजार कमाउँथे। त्यही आम्दानीले उनले परिवार पाल्नेदेखि लिएर छोराछोरीलाई शिक्षदीक्षा दिलाइरहेका थिए।
काठमाडौंमा बस्न सक्ने अवस्था नभएपछि कुमारले गाउँ फर्किने सोच बनाएका छन्। उनी भन्छन्, ‘तत्काल गाउँ जान सक्ने अवस्था नभए पनि केही सहज वातावरण बन्ना साथ अब गाउँ फर्कन्छु।’ गाउँमा गएर बाउबाजेको अलिअलि जग्गा भएकाले सोही जग्गामा खेती गरेर दैनिक गुजारा चलाउने सोच उनको छ।
कुमार मात्र होइन, अधिकांश सवारी चालकको अवस्था उस्तै छ। १५ वर्षदेखि काठमाडौं–महेन्द्रनगर रुटमा बस चलाइरहेका रवि कँडेल लकडाउन भएदेखि कञ्चनपुरमा रहेको आफ्नै घरमा छन्। लकडाउन लगत्तै गाउँ गएकाले त्यति धेरै आर्थिक समस्या भने नपरेको उनी बताउँछन्।
आफूलाई खासै समस्या नपरेपनि सवारीमा काम गर्नेहरु ठूलो आर्थिक समस्या परेको उनी बताउँछन्। आर्थिक अभावकै कारण कतिपय चालक–सहचालकले आत्महत्या गरिसकेको उनले बताए।
‘गाउँमा मेरो त थोरै भएपनि जग्गा थियो, त्यसैले गुजारा चलाइरहेको छु,’ रविले भने, ‘विकल्प नहुनेहरू निकै कठिन अवस्थामा छन्। कतैबाट सहयोग नपाउँदा आत्महत्या गर्ने अवस्थामा पुगेका छन्।’
सवारी मजदुरमात्रै नभई साना व्यवयायीहरु पनि समस्या रहेको उनले बताए। लामो समय सवारी ग्यारेजमै थन्क्याउनु पर्दा बैंकको किस्ता, गाडीको सर्भिसिङ लगायतका खर्च धान्न नसक्ने अवस्थामा साना व्यवसायी पुगेको रविले बताए।
महासंघ सहयोग गर्न सक्ने अवस्थामा छैन : कर्माचार्य
कोरोनाका कारण सवारी मजदुरहरु समस्यामा रहेको थाहा पाएर पनि सहयोग गर्न नसकेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए। महासंघ नै आर्थिक संकटमा रहेकाले महासंघले कुनै सहयोग गर्न सक्ने अवस्था नरहेको कर्माचार्यले बताए।
‘सवारीसाधनबाट संकलन गरेको रकमले सहयोग गर्ने हो। तर, सवारीसाधन लामो समयदेखि बन्द हुँदा महासंघ नै आर्थिक संकटमा छ,’ कर्माचार्यले भने, ‘सुरुमा केही सहयोग ग¥यौं, अब भने सहयोग गर्न सक्ने अवस्था छैन।’