Kathmandu Press

‘नेपालमा जातीय विभेदभन्दा प्रतिरोध बढेको हो’

नेपालमा जातीय विभेद्‍ बढेको होइन। नेपाली समाज प्रतिरोधी बन्दै गएको हो। प्रतिरोधबाट उत्पन्न भएका घटना र जातीय विभेदका घटनालाई फरक-फरक कोणबाट हेर्नुपर्ने हुन्छ।
‘नेपालमा जातीय विभेदभन्दा प्रतिरोध बढेको हो’

नेपाली समाजमा विभेद पहिल्यैदेखि थियो। जातीय विभेदका कारण हुने हिंसा पहिल्यैदेखिको समस्या हो। हामी अहिले त्यस विषयमा बढी जानकार छौँ।

सञ्चारको सुविधाले यस्ता घटना सहजै बाहिरिरहेका छन्। त्यसैले अहिले झन् घटना बढिरहेको हो कि भन्ने लाग्नु स्वभाविक हो। जातीय विभेदका घटना अहिलेमात्रै बढेको र पहिला कम थियो भन्ने प्रमाणित गर्न सकिने कुनै आधार र कारण छैनन्।

जातीय विभेदकै कारण कसैले ज्यान गुमाउनु नपर्ने अवस्थासिर्जना हुनेछ। हामी आशावादी हुनुपर्छ। छिटपुट घटनालाई आधार मानेर जसरी जातीय विभेद ह्वात्तै बढेको भनेर चर्चा हुन्छ, म त्यसमा सहमत छैन। हाल नेपालमा जातीय विभेद्‍ बढेको होइन। नेपाली समाज प्रतिरोधी बन्दै गएको हो। प्रतिरोधबाट उत्पन्न भएका घटना र जातीय विभेदका घटनालाई फरक-फरक कोणबाट हेर्नुपर्ने हुन्छ।
 
माओवादीले चलाएको सशस्त्र द्वन्द्वले आमनेपालीको राजनीतिक चेतना बढ्यो। सबैले आफ्ना अधिकारबारे धेरथोर जानकारी पाए। आफ्ना अधिकारप्रति सचेत भए। नेपालमा मैले गरेको अध्ययनका क्रममा के पाएँ भने भारतको उत्तरी क्षेत्रभन्दा नेपालका पहाडी क्षेत्रका मानिसहरुमा जातीय विभेदप्रतिको चेतना बढी छ।

भारतको उत्तरी क्षेत्रभन्दा नेपालको पहाडी क्षेत्रको समाजमा जातीय विभेदको चेतना धेरै भएको मैले नेपालमा गरेको अध्ययनमा पाएँ।

यद्यपी समाजमा जातीय स्तरीकरण थियो। कथित तल्लो जात भनिएकालाई केही बन्देज लगाइएकै थियो। जुन अहिले पनि कायम छ। चेतना भएपनि त्यसलाई परम्पराका रूपमा केहीले पच्छाइरहेको मैले पाएको थिएँ। नेपालको सुदूरपश्चिम क्षेत्रमा छुवाछूत नमान्दा देउता रिसाउने अन्धविश्वास रहेछ। यस्ता अन्धविश्वास अझै हटेका छैनन् र यसलाई तत्कालै हटाउन जरुरी छ।
 
नेपालमा अहिले अन्तरजातीय विवाहले विस्तारै मान्यता पाउँदै गएको मैले पाएको छु। काठमाडौंमा उपाध्यायको छोराले मानन्धरकी छोरीसँग विवाह गर्न लागेको निमन्त्रणापत्रमै पढ्न सकिन्छ। तर, काठमाडौंले पुरै नेपालको प्रतिनिधित्व गर्दैन।
 
जातीय विभेदको व्याख्या गर्दा मेरो मानसपटलमा गायक पशुपति शर्माको गीत गुन्जिन्छ। उनले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्ने सन्देश गीतमार्फत दिएका छन्। गीतले भन्छ-हामी जुनसुकै जातको भएपनि केही फरक पर्दैन। हामीले नेपाली हौं भन्ने हेक्का राख्नुपर्छ।’ यो गीतमा प्रयोग भएका दमाई, कामी, कमिनी जस्ता शब्दलाई लिएर केही युवा दलित अधिकारकर्मीहरुले आपत्ति समेत जनाएका थिए।
 
तर, लोक गायनमा लोकमा चलेको शब्द नै प्रयोग गर्ने चलन छ। यो गीतले मेरो पनि आँखा खोलिदियो। नेपालमा जातलाई कसरी प्रतिष्ठासँग जोडिन्छ भनेर मैले यही गीतबाट थाहा पाएँ। हिन्दू व्यवस्थाले जातीय विभेदको अन्त्य गर्न सक्छ। हिन्दू धर्म मान्ने नेपालीहरु विभिन्न देशमा छन्। त्यहाँ उनीहरुबीच विभेदको अवस्था देखिएको छैन। त्यसैले जातीय व्यवस्था हिन्दू धर्म मानेरै पनि अन्त्य गर्न सकिन्छ। तर, केही समय भने लाग्छ। त्यसका लागि केही मान्यताहरु परिवर्तन गर्न जरुरी छ।

सन् १९८२ देखि १९८४ सम्म म काठमाडौंमा आफ्नो अनुसन्धानका लागि बसेको थिएँ। त्यतिबेलासम्म मैले दलित र जनजाति शब्द सुनेको थिइनँ। कसैले पनि खस–आर्य शब्दावलीको प्रयोग गरेका थिएनन्। यी  शब्दावली सन् १९९० पछि मात्रै सुन्न थालिएको हो। यो जनजाति शब्द भारतबाट अपभ्रंश हुँदै नेपालमा प्रयोग भएको जस्तो मलाई लाग्छ। यो जनजाति शब्दावली सामान्य मानिसले अझै पनि बुझ्न सक्दैनन्।
 
काठमाडौंमा  मैले अनुसन्धान गर्दा जनजाति शब्दबारे ट्याक्सी चालकसँग प्रश्न गरेको थिएँ। उनीहरूमध्ये ५० प्रतिशतले अर्थ्याउन सकेका थिएनन्। तर दलितका विषयमा शत प्रतिशत जानकार थिए। छुवाछूतको  परम्परागत अभ्यास भएकाले दलितबारे सबै जानकार थिए।
 
दलितको अधिकारका सवालमा नेपाल पनि सचेत रहेको मैले पाएको छु। राज्यले अहिले समावेशी समानुपातिक प्रतिनिधित्वलाई अंगीकार गरेको छ। सन् २००८ देखि नेपालमा यो व्यवस्थाको कार्यान्वयन सुरु भएको हो। नेपालको संसद,सरकारी जागिर र अन्य संवैधानिक निकायको नियुक्ति पनि यो व्यवस्थाका आधारमा गरिएको छ।

राज्यको अंगमा दलितका प्रतिनिधित्व र उनीहरुका अधिकार सुनिश्चित भएजस्तै अब समाजमा पनि जनचेतना फैलाउन जरुरी छ। सबैको अधिकारको सम्मान गर्दै नेपाली समाज अघि बढ्नुपर्छ। राष्ट्र निर्माणमा सबैको सीपको प्रयोग गरिनुपर्छ।
 
आधुनिक सीपको अबलम्बनसँगै परम्परागत सीपको संरक्षण गर्दै जाने हो भने स्वरोजगारको अवसर सिर्जना हुन्छ। दलित भनिएका जातका सीपको संरक्षण र प्रवर्द्धन गर्ने हो भने नेपालको मौलिक लोकबाजादेखि सम्पदालाई अनन्तकालमसम्म जीवित राख्न सकिन्छ। त्यसैले विभेदको अन्त्य गर्न सबै जातजातिबीच सहकार्यको अवस्था सिर्जना हुनुपर्छ।
 
(काठमाडौंका ‘नेवार र गैर नेवार बौद्धमार्गी’का विषयमा विद्यावारिधी गरेका अक्सफोर्ड विश्वविद्यालय बेलायतका प्राध्यापक डेभिड गेल्नरका नेपालबारे एक दर्जन पुस्तक तथा अध्ययन प्रकाशित छन्। दलित लाइभ्स म्याटर नेपालका लागि समता फाउण्डेशनका अध्यक्ष प्रदिप परियारले गेल्नरसँग गरेको कास्ट कन्भर्सेशन सिरिजको अन्तर्वार्ताका आधारमा यो लेख तयार गरिएको हो)

 

प्रकाशित मिति: १८:४२ बजे, सोमबार, भदौ १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्