कृष्ण सिटौलाले भने– हाम्रो युवा भाइ हुन् गगन थापा, तर, उनलाई सभापति भन्न पटक्कै मन छैन
‘हाम्रो युवा भाइ हुन् गगन थापा। भाइ भन्दा अन्यथा नहोला । सभापति भन्न मलाई पटक्कै मन लागेको छैन, विशेष महाधिवेशनलाई मान्यता दिनै सकिएको छैन । त्यो अवैधानिक छ, अराजक ढंगले गरिएको छ,’ सिटौलाले भने।
काठमाडौं, साउन २९ : नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले गगन थापाले विशेष महाधिवेशन गरेर ठूलो गल्ती गरेको बताएका छन्।
शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले विशेष महाधिवेशनबाट सभापति चुनिएका थापालाई सभापति भन्न पटक्कै मन पनि नलागेको बताए।
‘हाम्रो युवा भाइ हुन् गगन थापा। भाइ भन्दा अन्यथा नहोला । सभापति भन्न मलाई पटक्कै मन लागेको छैन, विशेष महाधिवेशनलाई मान्यता दिनै सकिएको छैन । त्यो अवैधानिक छ, अराजक ढंगले गरिएको छ,’ सिटौलाले भने।
यो कुरा आफ्नो पक्षको मान्यता रहेको बताउँदै उनले कुनै व्यक्तिगत पूर्वाग्रह नभएको पनि दाबी गरे। उनले भने, ‘मानिसको जीवनमा गल्ती हुन्छ । त्यसलाई आत्मसात गर्नसक्नुपर्छ । त्यसलाई सच्याउन सक्नुपर्छ । त्यही त महानता हो। हठले, अहंकारले कहिँ पनि पुगिदैन्। तपाईँलाई मेरो सुझाव छ– गल्ती सच्याउनुस्।’
सर्वोच्च अदालतले सभापति थापालाई गल्ती सच्याउने ढोका खोलिदिएको पनि नेता सिटौलाले बताए। दुनियाँमा धेरै शासन गरेका शासक आफू हठ गरेर गल्ती गर्दा ढलेको उनले बताए।