संस्थापन इतरको भेलामा शेखरले भने– कसैको निरंकुशता स्वीकार गर्दैनौं
अहिले देशको अवस्था अत्यन्त संकटग्रस्त अवस्थामा छ। देशको अस्तित्व खतरामा छ। देशको राष्ट्रियता खतरामा छ। यो किन भइरहेको छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ,’ उनले भने।
काठमाडौं, साउन २९ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूहरु कसैको निरंकुशता स्वीकार नगर्ने बताएका छन्।
नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कसैको निरंकुशता स्वीकार नगर्ने बताउँदै देश अहिले गम्भीर संकटको अवस्थामा रहेकाले राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए।
देशको अस्तित्व र राष्ट्रियता नै जोखिममा रहेको बताउँदै उनले वर्तमान अवस्था किन सिर्जना भयो भन्ने विषयमा गम्भीर भएर बुझ्न आवश्यक रहेको उल्लेख गरे।
‘अहिले देशको अवस्था अत्यन्त संकटग्रस्त अवस्थामा छ। देशको अस्तित्व खतरामा छ। देशको राष्ट्रियता खतरामा छ। यो किन भइरहेको छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ,’ उनले भने।
कोइरालाले नेपाली कांग्रेसले सबै पक्षलाई समेटेर अघि बढ्दै आएको उल्लेख गर्दै पार्टीले कुनै पनि प्रकारको निरंकुशता स्वीकार नगर्ने बताए।
‘नेपाली कांग्रेस मात्र एउटा यस्तो पार्टी हो, जसले सबैलाई सधैँ मिलाएर हिँडिरहेको पार्टी हो । हामी कुनै किसिमको निरंकुशता स्वीकार गर्दैनौँ । कसैको निरंकुशता नस्वीकार्ने पार्टी हो हाम्रो,’ उनले भने ।
उनले कांग्रेस अहिले विभाजित मानसिकताबाट गुज्रिरहेको भए पनि पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको बताए। कांग्रेस एकताबद्ध हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
‘नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ । मलाई विश्वास छ, नेपाली कांग्रेस एकढिक्का हुन जरुरी छ र हुन्छ भन्ने कुरामा पनि म विश्वस्त छु । देशका निम्ति एकढिक्का हुन जरुरी छ,’ कोइरालाले भने ।
कांग्रेस एकताबद्ध भएपछि अन्य राजनीतिक दलसँग सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्ने उनले बताए । देशमा राजनीतिक दलबाहेक अन्य शक्तिहरू पनि रहेको उल्लेख गर्दै राष्ट्रियता मजबुत बनाउन सबै पक्षसँग सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
‘नेपाली कांग्रेस एकढिक्का हुने वित्तिकै अन्य दलहरुसँग हामीहरु सहमति सहकार्य र एकता गरिकन अगाडि बढ्नुपर्छ । अन्य दलबाहेक देशमा अन्य पनि शक्तिहरु छन् । ति शक्तिहरुसँग पनि हामीहरुले मिलेर काम गरेर राष्ट्रियतालाई मजबुत गर्न सक्यौं भने नेपाली कांग्रेसको भविष्य मात्रै होइन, देशको भविष्य नै उज्ज्वल हुन्छ भन्ने मलाई लाग्छ । प्रजातन्त्र भनौं, लोकतन्त्र भनौं अहिले अप्ठ्यारो परिस्थितिमा छ,’ उनले भने।
उनले कांग्रेसले अन्य राजनीतिक दल तथा देशका विभिन्न शक्तिसँग मिलेर राष्ट्रियतालाई मजबुत बनाउन सके कांग्रेसको मात्र नभई देशकै भविष्य उज्ज्वल हुने बताए।
कोइरालाले प्रजातन्त्र तथा लोकतन्त्र अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको समेत बताए । लोकतान्त्रिक व्यवस्थामाथि चुनौती बढिरहेका बेला सबै लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए।











