डा. केसीले आज बेलुकी ५ बजेदेखि सत्याग्रह सुरु गर्ने
आज पत्रकार सम्मेलन गर्दै डा. केसीले आजै बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी दिएका छन्। सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै सत्याग्रह सुरु गर्न लागेको उनले बताए।
काठमाडौं, मंसिर २९ : चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आज (शुक्रबार) बेलुकी ५ बजेदेखि देखि सत्याग्रह सुरु गर्ने भएका छन्।
आज पत्रकार सम्मेलन गर्दै डा. केसीले आजै बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी दिएका छन्। सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै सत्याग्रह सुरु गर्न लागेको उनले बताए।
उनले विगतमा भएका सम्झौता कार्यान्वयनलाई मूख्य माग बनाएका छन्। सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउनुपर्ने, सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्नुपर्नेलगायत माग पनि उनले राखेका छन्।
सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउने माग पनि उनको रहेको छ।
गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडिकै सम्झौताबमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेज स्थापना गर्ने माग पनि उनका छन्।
१०० शय्याभन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रम थाल्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भएबमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने माग डा. केसीले अघि सारेका छन्।
डा. केसीले एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने र सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त्य गर्न कानुनी व्यवस्था गर्नुपर्ने पनि माग अघि सारेका छन्।











