किसानलाई मूल्य शृङ्खलामा काम गर्न अध्यक्ष ओलीको सल्लाह
‘पढेर पासपोर्ट बनाएर विदेश होइन, यहीं केही गर्नू । टिपेर ल्याउन विदेशमा सुन फलेको छैन,’ उनले भने, ‘अलि ढिलो होला तर दुःख गरे यहीं धनी हुन सकिन्छ।’
धनकुटा, मंसिर २८ : एमाले अध्यक्ष केपी ओलीले पारम्परिक कृषिलाई प्रविधि र मूल्य शृङ्खलासँग जोडेर काम गरे बजारको अभाव नहुने सुझाव दिएका छन्।
समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गबाट भोजपुर हुँदै धनकुटाको पाख्रिबास आइपुगेका ओलीले त्यहाँ रहेको प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसका विद्यार्थीसँग अन्तक्र्रियामा यस्तो बताएका हुन्।
एमाले जिल्ला कमिटी धनकुटाले आयोजना गरेको सो कार्यक्रममा धनकुटाको कृषि क्षेत्रको समस्या र अवस्थाका बारेमा क्याम्पसका प्रमुख निराजन भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यपत्रमा भण्डारीले धनकुटाको कृषि तथा दुग्धजन्य बजारले भारतसँग प्रतिष्पर्धा गर्न नसकेकाले भारतीय कृषि उपज बन्द गर्न मागसमेत गरे।
सागलाई गुन्द्रक बनाएर महँगोमा बेच्न सकिने आधार दिँदै अध्यक्ष ओलीले अन्य कृषि उपजलाई पनि बजारको मागअनुसार तयारी गरेर बेच्न सुझाव दिए। त्यसका लागि राज्यले वास्तविक किसानलाई पहिचान गरेर अनुदान दिने र कृषिलाई प्रविधिसँग जोडेर लानुपर्ने उनको भनाई थियो।
‘पढेर पासपोर्ट बनाएर विदेश होइन, यहीं केही गर्नू । टिपेर ल्याउन विदेशमा सुन फलेको छैन,’ उनले भने, ‘अलि ढिलो होला तर दुःख गरे यहीं धनी हुन सकिन्छ।’
महालक्ष्मी नगरपालिकाको लेगुवा बजारबाट सुरु भएको संकल्प यात्रा पाख्रिबास नगरपालिकाको पाख्रिबास बजार, धनकुटा नगरपालिकाको हिले बजार, छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजार हुँदै टोली तेहथुमको वसन्तपुर पुगेर आमसभामा सहभागी हुने एमाले धनकुटा जिल्ला कमिटीका अध्यक्ष इन्द्रमणि पराजुलीले बताए।











