Kathmandu Press

माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुको विकल्प छैन : कोइराला

सरकारले जनतामा आशा जगाउन नसकेको बताउँदै उनले कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने दाबी गरे।
माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुको विकल्प छैन : कोइराला

मोरङ, मंसिर २८ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको आरोपसमेत लगाए।

सरकारले जनतामा आशा जगाउन नसकेको बताउँदै उनले कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने दाबी गरे।

‘सरकारसँग जनता निराश भएका छन । जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ,’ उनले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन।’

नेता कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको बताए। कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्न नेता कोइरालाको तर्क थियो ।

आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भने, ‘लोकतन्त्रमा अंकको खेल हुन्छ। हामीसित दलको नेता फेर्ने संख्या छैन।’

नेता कोइरालाले कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिए। उनले पहिचानवादीहरूसँग वार्ता गरेर विवाद मिलाउनु पर्ने बताए।

‘कोशी नामका विषयमा विवाद छ । त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ,’ उनले भने ।

नेता कोइरालाले राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना एनसेल प्रकरणमा हुनै नसक्ने ठोकुवा गरे ।

‘एनसेलमा एक–दुई अर्ब होइन अर्बौं अर्ब घोटाला भएको छ,’ कोइरालाले भने, ‘यति ठूलो घोटालामा राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना हुनै सक्दैन। कस–कसको संलग्नता छ भनेर विस्तारै अनुसन्धानमा खुल्दै जाला।’

प्रकाशित मिति: १८:५६ बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्