खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश, थुनामुक्त हुने तयारी
खाणलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर भएको छ। उच्च अदालतको आदेशपछि खाण धरौटीमा छुट्ने तयारीमा छन्।
काठमाडौं, मंसिर २८ : उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलाइएका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ।
खाणलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर भएको छ। उच्च अदालतको आदेशपछि खाण धरौटीमा छुट्ने तयारीमा छन्।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाण धरौटीमा छाड्ने गरी यसअघि उच्चकै न्यायाधीश जनक पाण्डेले दिएको व्यक्त गरेको रायलाई समर्थन गरेको छ। उक्त रायसँगै जिल्ला अदालतको आदेश बदर भई खाण थुनामुक्त हुने भएका छन्। अब उनले जेल बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने छन्।
यसअघिको सुनुवाईकाक्रममा उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो। न्यायाधीश पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने अर्का न्यायाधीश प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए।
दुईजना न्यायाधीशहरुविचको राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाणले निवेदन दिएका थिए। बिहीबार न्यायाधीश कोइरालाको इजलासमा पेश भएको निवेदनमा सुनुवाईपछि धरौटी आदेश भएको हो। अहिले खाण छुट्नका लागि धरौटी रकम जम्मा गर्ने तयारी भइरहेको छ।











