प्रदेश सांसद मनाङेले दिए अख्तियारमा उजुरी
अवैध तरिकाले जग्गा हडपेर फार्म सञ्चालन गरेको बताउँदै मनाङेले उजुरी दिएका हुन्। बिहीबार पत्रकार सम्मेलनमार्फत उनले उक्त जानकारी गराएका हुन्।
काठमाडौं, मंसिर २८ : गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले एग्रो मनाङ प्रालिमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
अवैध तरिकाले जग्गा हडपेर फार्म सञ्चालन गरेको बताउँदै मनाङेले उजुरी दिएका हुन्। बिहीबार पत्रकार सम्मेलनमार्फत उनले उक्त जानकारी गराएका हुन्।
भ्रष्टाचार भएको दाबी गरिएको उक्त फार्म पूर्वसांसद तथा नेकपा (एमाले) का नेता पाल्देन छोपाङ गुरुङको रहेको जनाइएको छ। स्थानीयले गाउँमा विद्युतको समस्या सुनाएको र एग्रो मनाङका कर्मचारीले विद्युत् पोल गाड्न नदिएपछि आफू त्यहाँ पुगेर निरिक्षण गरेको विज्ञप्तिमा उल्लेख छ।
निरीक्षणका क्रममा वन फँडानी भएको, अवैध तरिकाले रुखहरू काटिएको र काठहरू अव्यवस्थित रूपले राखिएको भनाई मनाङेको छ। कतैबाट अख्तियारी नदिएको अबस्थामा एग्रो मनाङ प्रालिले अवैध रूपले लुकीछिपी आफूखुसी रुखहरू काटिरहेको दाबी मनाङेको छ।
मनाङ मर्स्याङ्दी क्लबसँग सम्झौता गरेर एग्रो मनाङले अवैध तरिकाले जग्गा लिजमा लिएको उजुरीमा उल्लेख छ। एग्रो मनाङ प्रालिले ७३४ रोपनी जग्गाको अवैधानिक अनुमति लिई ८२५ भन्दा बढी रोपनी जग्गा भोगचलन गर्दै आएको आरोप समेत मनाङेले लगाएका छन्।
विद्यालयको करिब १० रोपनी र छेउछाउको करिब २८ रोपनी गरी अन्दाजी ३८ रोपनी सार्वजनिक जग्गामा रहेका रुखहरू काटिएका कारण जनप्रतिनिधिको हैसियतले अख्तियारमा उजुरी हालेको भनाई उनको छ।










-1783670058.png)
