Kathmandu Press

‘हवाई सेवाको नियमन र सञ्चालनको अलग व्यवस्था हुन्छ’

प्रधानमन्त्री दाहालले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नियमन र सञ्चालनको दुवै काम गर्दा हवाई सेवाको सुरक्षा तथा गुणस्तर आवश्यक मापदण्ड अनुसारको हुन नसकेको स्वीकार्दै यसमा सकेसम्म चाँडो सुधार गरिने आश्वासन पनि दिए।
‘हवाई सेवाको नियमन र सञ्चालनको अलग व्यवस्था हुन्छ’

काठमाडौं, मंसिर २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको हवाई सेवालाई व्यवस्थित गरेर युरोपियन युनियनको कालोसूचीबाट हटाउन प्रयास गर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नियमन र सञ्चालनको दुवै काम गर्दा हवाई सेवाको सुरक्षा तथा गुणस्तर आवश्यक मापदण्ड अनुसारको हुन नसकेको स्वीकार्दै यसमा सकेसम्म चाँडो सुधार गरिने आश्वासन पनि दिए।

‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको छु,’ प्रधानमन्त्री दाहालले भने , ‘हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ। त्यसैले म गम्भीर छु।’

रास्वपाको प्रतिनिधिमण्डलले आज बिहान प्रधाम्नमन्त्री दाहाललाई भेटेर विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै हवाई सुरक्षाको नाजुक अवस्थाबारे पनि सुधारको आवश्यकता औंल्याएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले प्रधानमन्त्री दाहालले क्यानको अधिनमा रहेको नियमन र सञ्चालनको जिम्मेवारी अलग गरेर विमानस्थल व्यवस्थापनलाई चुस्तदुरुस्त पार्ने वचन पनि दिएका छन्। आफूले यसबारे गम्भीर रुपमा अध्ययन गरिरहेको र सकेसम्म चाँडो यसमा महत्वपूर्ण निर्णय हुने प्रधानमन्त्रीको भनाई उदृत गर्दै उपाध्यक्ष अर्यालले बताए।

 

प्रकाशित मिति: १०:४८ बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्