Kathmandu Press

सिम्रौनगढमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु 

सिम्रौनगढमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु 

कलैया, मंसिर २७ : बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा भएको झडपमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ। 

प्रहरी र प्रदर्शनकारीबीचको उक्त झडपमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक प्रदर्शकारीलाई उपचारका लागि अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालय बाराले गम्भीर घाइतेलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका छन्। मृतको परिचय खुलि नसकेको जानकारी प्रहरीले दिएको छ। 

सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा एक समूहले हाजिर गर्न अवरोध गरेपछि विवाद शुरु भएको जनाइएको छ। सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत दुई महिनादेखि कर्मचारीहरूले तलब भत्ता पाउन सकेका थिएनन्। 

झडपको वातावरण उत्पन्न भएपछि प्रहरी परिचालन गरिएको छ। झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा एकजना प्रदर्शनकारीलाई गोली लागेको हो। अहिले घाइते प्रहरीहरुलाई पनि उपचारको लागि अस्पताल लगिएको छ। 
 

प्रकाशित मिति: १७:३४ बजे, बुधबार, मंसिर २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्