Kathmandu Press

अहिलेको संघीयता विकृत छ : हृदयेश त्रिपाठी

संघ र प्रदेशको बीचमा अधिकारको बाँडफाँट हुनुपर्नेमा प्रदेशलाई लाचार बनाई बदनाम गर्नै काम भइरहेको बताउँदै उनले नगरपालिकालाई नगर प्रहरी छ तर प्रदेशलाई प्रहरी नै नदिएको अवस्थालाई विकृत संघीयता नै भन्न सकिने बताए ।
अहिलेको संघीयता विकृत छ : हृदयेश त्रिपाठी

धनुषा, मंसिर २६ : जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले अहिलेको संघीयता विकृत रहेको बताएका छन्।

संघीय सांसद समेत रहेका त्रिपाठीले नेपाल पत्रकार महासंघ धनुषाको सभाकक्षमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अधिकारविहीन प्रदेश सरकार बनाएर संघीयताको ढोल पिट्ने काम भइरहेको बताए।

संघ र प्रदेशको बीचमा अधिकारको बाँडफाँट हुनुपर्नेमा प्रदेशलाई लाचार बनाई बदनाम गर्नै काम भइरहेको बताउँदै उनले नगरपालिकालाई नगर प्रहरी छ तर प्रदेशलाई प्रहरी नै नदिएको अवस्थालाई विकृत संघीयता नै भन्न सकिने बताए ।

राज्य संरचनाको नाउँमा भौगोलिक संरचना बनाइएको आरोप लगाउँदै उनले छापामार शैलीले संविधान जारी गरिएको र त्यसैको विकृत रूप अहिलेको अवस्था रहेको बताए।

‘संविधान जारी गर्नेहरु स्वामित्व लिन तयार छैनन्, संविधान कार्यान्वयन गर्दाखेरि पटक पटक घाइते भएको अवस्था छ,’ उनले भने, ‘अन्तिम घाइते सर्वोच्च अदालतले फैसला गर्दा संसद पुनःस्थापना गर्दा फलानोलाई प्रधानमन्त्री बनाउ भनेर निर्णय गरि संसदको अधिकारमाथि नग्न प्रहार भएको छ।’

मिश्रित निर्वाचन प्रणालीकै कारणले कुनै पनि दलले बहुमतको सरकार बनाउन सक्ने अवस्था नरहेको बताउँदै त्रिपाठीले समानुपातिक प्रणालीलाई हटाएर प्रत्यक्ष प्रणालीलाई लागु नगरिएसम्म सरकार बनाउन एक अर्काको मुख ताक्नुबाहेक  विकल्प नरहेको बताए।

अर्थतन्त्रका विषयमा उनले सुधारका लागि अहिलेको सरकारको प्रयास चाहिने जति नरहेको धारणा राखे।

प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, मंसिर २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्