Kathmandu Press

क्रिश्चियन धर्मगुरु गहतराज पक्राउ

गहतराजको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि गर्दै त्रिभुवन विश्वविद्यालयले सूचना तथा प्रसारण विभागलाई पत्र पठाएको जानकारीका आधारमा पक्राउ गरिएको हो।
क्रिश्चियन धर्मगुरु गहतराज पक्राउ

काठमाडौं, मंसिर २६ : नेपाल ख्रीस्टियन महासंघका निलम्बित अध्यक्ष चरीबहादुर गहतराज (सीबी) लाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

आफुलाई क्रिश्चियन धर्मगुरुका नाममा समेत चिनिने गहतराज नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनलाई सिंहदरबार आसपासबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

गहतराजको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि गर्दै त्रिभुवन विश्वविद्यालयले सूचना तथा प्रसारण विभागलाई पत्र पठाएको जानकारीका आधारमा पक्राउ गरिएको हो।

उनले ‘महानअभियान’ नामको पत्रिका जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गर्दा स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरी परेको जनाइएको छ।

समाजशास्त्रमा स्नातक गरेको भन्दै उनले पत्रिका दर्ताका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि पक्राउ गरिएको हो।

गहतराजले चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसबाट वि.सं. २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको भन्दै नक्कली प्रमाणपत्र पेश गरेका थिए।

 

प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, मंसिर २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्