सहमतिका आधारमा संघीयताका बाँकी काम टुंगो लगाउनुपर्छ : सभापति देउवा
सभापति देउवाले प्रजातन्त्रका लागि पञ्चायतकालदेखि नै सक्रिय नेपाली कांग्रेसका प्रतिबद्ध नेता सिंहले पार्टी सङ्गठन र परिवर्तनका लागि भएका आन्दोलनमा पुर्याएको योगदानको सम्मानका लागि पनि पार्टी नेता कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरे।धनुषा, मंसिर २५ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुंगोमा पुर्याउनुपर्ने बताएका छन्।
धनुषाको औरही गाउँपालिका–४ मा आज नेपाली कांग्रेसका पुराना नेता एवं धनुषा निर्वाचन क्षेत्र नं २ का पूर्वसभापति राजकिशोर सिंह राजपुतको सालिक अनावरण गर्दै सभापति देउवाले संघीयतालाई बलियो बनाउन प्रदेशलगायत निकायले उठाइरहेका सवाल सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए।
सभापति देउवाले प्रजातन्त्रका लागि पञ्चायतकालदेखि नै सक्रिय नेपाली कांग्रेसका प्रतिबद्ध नेता सिंहले पार्टी सङ्गठन र परिवर्तनका लागि भएका आन्दोलनमा पुर्याएको योगदानको सम्मानका लागि पनि पार्टी नेता कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरे।
‘स्वर्गीय सिंह पार्टीको सम्पत्ति हुनुहुन्छ, उहाँको अनुपस्थितिले हाम्रो पार्टी र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको छ,’ उनले भने, ‘त्यो क्षतिपूर्तिका लागि हामी सबैले उहाँको सपना सकार गर्न लाग्नुपर्ने पर्छ । त्यसका लागि क्रियाशील हुन म अनुरोध गर्दछु।’
कार्यक्रममा पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिले संविधानअनुसार दुई–दुईपटक निर्वाचन भइसक्दा पनि संघीयता कार्यान्वयनको महत्वपूर्ण काम बाँकी रहेको भन्दै दलहरुले गम्भीर बन्नुपर्नेमा जोड दिए।
उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेस र कांग्रेसले गरेका भन्दै सङ्यीयता कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए।