‘मुलुक अहिले समाजवाद उन्मुख भएकाले पश्चगामी चिन्तनको कुनै गुञ्जायस छैन’

काठमाडौं, मंसिर २५ : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुलुक अहिले समाजवाद उन्मुख भएकाले पश्चगामी चिन्तनको कुनै गुञ्जायस नभएको बताएका छन्।
रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उहाले संघीय लोकतान्त्रिक व्यवस्थाको विरोधको नाममा मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम मात्रै भइरहेकाले सबै नागरिकहरु सजक हुनुपर्नेमा समेत जोड दिए।
महासचिव गुरुङले जनतालाई सेवा प्रवाह गर्ने निकायहरु जागरुक भएर कमीकमजोरी सच्याउँदै अहिलेको व्यवस्थालाई बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राखे।
त्यस्तै महासचिव गुरुङले एनसेल कर छलीमा पनि सत्ता गठबन्धन सरकारले छानविन समिति बनाएर सत्य, तथ्य बाहिर ल्याउने अठोट लिएको बताए। एनसेलको सम्बन्धमा सम्मानित पाटन उच्च अदालतले शेयर बिक्री गर्न तत्कालका लागि अन्तरिम आदेश दिइसकेकोले यस विषयमा थप टीकाटिप्पणी गर्नु उपयुक्त नहुने उनले बताए।
नेता गुरुङले प्रचण्डको नेतृत्वमै सम्पूर्ण वाम शक्ति एकता गर्न तयार रहेको वातावरण सिर्जना हुँदै गएको र अध्यक्ष प्रचण्डकै नेतृत्वमा गैर वाम शक्तिलाई पनि मिलाएर लगिएका नेपालको स्वाधीनता, राष्ट्रियताको रक्षा गर्न बल पुग्ने विचार व्यक्त गरे।