Kathmandu Press

भूकम्प प्रभावितका लागि घरटहरा बनाउने कांग्रेसको दोस्रो चरण अभियान भोलिदेखि

भूकम्प प्रभावितका लागि घरटहरा बनाउने कांग्रेसको दोस्रो चरण अभियान भोलिदेखि

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दोस्रो चरणको आवास निर्माण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

मंसिर २६ गतेदेखि पुस ६ गतेसम्म भूकम्प प्रभावितका लागि दोस्रो चरणको अस्थायी घर टहरा निर्माण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट एक हजार अस्थायी घर टहरा निर्माण गर्ने प्रतिवद्धताका साथ पहिलो चरणमा कात्तिक २२ गतेदेखि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको टोली जाजरकोट र रुकुम पश्चिम गएको थियो।

उक्त अभियानमा केन्द्रीय सदस्यहरू, स्थानीय रुपमा संयोजन गर्ने प्रभावित क्षेत्रका पार्टीका प्रतिनिधि, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिको सहभागिता थियो।

दोस्रो चरणको कार्यक्रममा केन्द्रीय सदस्यको नेतृत्वमा घर टहरा निर्माण, समन्वय र सहजीकरणका लागि नयाँ टोली रहने जनाइएको छ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल लोकतान्त्रिक खेलकुद संघका छुट्टाछुट्टै टोली प्रभावित क्षेत्रमा खटिने जनाइएको छ। लुम्बिनी प्रदेशका सवै जिल्लाहरू, कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा गण्डकी प्रदेशको बागलुङ जिल्लाको टोली समेत अस्थायी घर टहरा निर्माणमा खटिनेछ।

घर टहरा निर्माणमा खटिने सबै टोलीले मापदण्डको पूर्ण जानकारी लिई सोहीअनुसार निःशुल्क रुपमा घर टहरा निर्माण कार्य सम्पन्न गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
 

प्रकाशित मिति: १३:१५ बजे, सोमबार, मंसिर २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्