शतबीज छर्दै पितृकाे सम्झना [तस्बिरहरू]
आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रका १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरमा शतबीज छर्ने गरिन्छ।![शतबीज छर्दै पितृकाे सम्झना [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1702276951.jpg)
काठमाडौं, मंसिर २५ : दिवंगत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा सोमबार बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ।
त्रयोदशीको दिन आइतबार बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन सोमबार बिहानै पितृको सद्गतिको कामना गर्दै शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन्।

बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा भीड थियो। आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रका १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरमा शतबीज छर्ने गरिन्छ।

शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याइदिन अनुरोध गर्ने चलन छ। शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन छ। शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ।

भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ। पशुपतिनाथ मन्दिर आउन नसक्ने भक्तजनले भने आ–आफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरेका छन्।























-(1)-1752494016.png)