शान्ति प्रक्रियामा राष्ट्रिय सहमति नभए गणतान्त्रिक प्रक्रियाबाटै टुंग्याइन्छ : प्रधानमन्त्री दाहाल
संसदमा पहिलो एजेण्डाको रुपमा यसलाई प्रवेश गराइने बताउँदै उनले यसमा राष्ट्रिय सहमति गराउने अन्तिम प्रयास गर्ने पनि बताए।-1702215072.jpg)
काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री पुष्पकमल दाहालले अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा शान्ति प्रक्रिया टुंग्याउने विषयवस्तुलाई प्रवेश गराउने बताएका छन्।
आइतबार बालुवाटार आयोजित गम्भीर मानवअधिकार उल्लंघनका घटनाका पीडितहरूको राष्ट्रिय सञ्जालद्वारा आयोजित कार्यक्रममा उनले राष्ट्रिय सहमति भएन भने गणतान्त्रिक प्रक्रियाबाट भए पनि टुंग्याएर छाड्ने दाबी गरे।
संसदमा पहिलो एजेण्डाको रुपमा यसलाई प्रवेश गराइने बताउँदै उनले यसमा राष्ट्रिय सहमति गराउने अन्तिम प्रयास गर्ने पनि बताए।
जनताले पाएका हक अधिकारसँगै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने प्रयास भइरहेको बताउँदै प्रधानमन्त्री दाहालले छिटोभन्दा छिटो शान्ति प्रक्रियालाई सकारात्मक ढंगले टुंग्याउन जरुरी रहेको उल्लेख गरे।
‘१२ बुँदे समजदारी, शान्ति सम्झौता र संविधानसभाबाट प्राप्त भएका जनताको हक अधिकारमाथि धावा बोल्ने प्रयास भइरहेको छ । त्यसकारण पनि हामी अझ बढी एक भएर अगाडि जान जरुरी छ,’ उनले भने, ‘त्यसैले छिटोभन्दा छिटो यसलाई सकारात्मक ढंगले टुंग्याउन जरुरी छ । यो पटक हामी टुंग्याउछौं।’
प्रधानमन्त्री दाहालले आफू सरकार मात्र नभएर शान्ति सम्झौताको हस्ताक्षरकर्ता पनि भएकाले विशेष जिम्मेवारी रहेको बताए।
‘यो ऐतिहासिक तथ्य हो म सरकार मात्र होइन शान्ति सम्झौताको हस्ताक्षरकर्ता पनि भएको हुनाले मेरो विशेष जिम्मेवारी यसलाई टुंग्याउने र तपाईहरुलाई खुसी बनाउने छ,’ उनले भने।











-(1)-1752494016.png)