Kathmandu Press

एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन

संयोजक शर्माले आवश्यक कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिसँग समेत छलफल गरी राय सुझाव पेस गरिने बताए।
एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन

काठमाडौं, मंसिर २४ : एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानविन समितिले काम थालेको छ।

नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक टंकमणि शर्माले जानकारी दिए।

समितिले अध्ययन तथा छानबिनका क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारी, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने उनले बताए।

संयोजक शर्माले आवश्यक कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिसँग समेत छलफल गरी राय सुझाव पेस गरिने बताए।

समितिले एनसेलको शेयर खरिदबिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाण भएमा समिति समक्ष उपलब्ध गराइ अनुसन्धानमा सहयोग गर्न सम्पूर्णमा आह्वान गरेको छ।

समितिको सचिवालय सिंहदरबास्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको छ।

सरकारले मंसिर २१ गते एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा, प्रचलित कानुनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।

 

प्रकाशित मिति: १९:१० बजे, आइतबार, मंसिर २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्