मानवअधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन् : अध्यक्ष केसी
पचहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले कमजोर नागरिकले वर्षौंदेखि अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको उल्लेख गरे।
ढोरपाटन (बागलुङ), मंसिर २४ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानवअधिकार प्राप्तिका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेको बताएका छन्।
पचहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले कमजोर नागरिकले वर्षौंदेखि अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको उल्लेख गरे।
नागरिकको मानव अधिकारको प्रत्याभूत नभएकै कारण हरेक दिनदिनै नेपाली युवा बिदेसिनु परेको अध्यक्ष केसीको भनाइ थियो। एउटा नागरिककोे गास, बास र कपाससँगै उसले देशमै गरिखान पाउने अधिकार हुने भनिए पनि पछिल्लो समय त्यस्तो वातावरण नहुँदा दिनहुँ हजारौँ युवा बाहिरिनु परेको चर्चा गर्दै उनले यसका लागि राष्ट्रिय जनमोर्चा वर्षौंदेखि लड्दै आएको र अहिले पनि आफूले संसद्मा यस विषयमा आवाज उठाइ रहेको जानकारी दिए।
'मानव अधिकारबारे बढी प्रचार गर्नेले नै यसको उल्लङ्घन गरिरहेका छन्, जसले मानव अधिकारको घोर उल्लंघन गरेको छ, उसैले मानव अधिकारको चर्को कुरा गरिरहेको छ, कुनै पनि नागरिकलाई मानव अधिकार संरक्षण हुन्छ, भन्ने विश्वास नै छैन,' अध्यक्ष केसीले भने, 'शक्ति हुनेको टुंगाे उँभो पल्टन्छ, कमजोरको उँदो पनि पल्टिँदैन, त्यसले गर्दा जो बलियो छ, उसले मानवअधिकार पाएको छ, निमुखा जनताले भने पाउन सकेका छैनन्।'
मानव अधिकार रक्षाका लागि सरकार र जनता नै लाग्नुपर्नेमा जोड दिँदै उनले वर्षौंदेखि अन्यायमा परेका कैयौँ नागरिकले अहिलेसम्म न्याय पाउन नसकेकाले यसमा सरकार सचेत हुनुपर्नेमा जोड दिए।











-(1)-1752494016.png)