कोप–२८ सम्मेलन उपलब्धिमूलक : मन्त्री डा. महतो
युएईको दुबईमा आयोजना भएको सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा उनले यसपटकको सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएको उल्लेख गरे।
काठमाडौं, मंसिर २३ : वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन्।
युएईको दुबईमा आयोजना भएको सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा उनले यसपटकको सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएको उल्लेख गरे।
उनले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिको एकै स्वर रहेको र यसपटक नेपालले आफ्ना मुद्दा जोडदाररूपमा उठाएको उल्लेख गरे। उनले भने, ‘यसपटक हामी वानडोर विन्डोज सिस्टमबाट प्रस्तुत भएका थियौं। यसको परिणाम हाम्रा आवाज प्रभावकारी भएका छन्।’
मंसिर २६ गतेसम्म चल्ने सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे चर्चा मात्र भएन यसले प्राथमिकतासमेत पाएको छ।
मन्त्री डा. महतोले कोप–२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गर्नुभएको र नेपाललाई उच्च प्राथमिकतामा राखेकाले पनि यसपटक सम्मेलनमा नेपालका मुद्दाले विश्व मञ्चमा चर्चा भएको बताए।
यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभिलियन भएकाले जलवायु परिवर्तनका बारेमा प्रभावकारीरूपमा छलफल तथा अन्तक्र्रिया गरिएको मन्त्री डा महतोले जानकारी दिए।











-(1)-1752494016.png)