बूढीगण्डकी परियोजना सफल बनाउनुपर्छ : अध्यक्ष ओली
अध्यक्ष ओलीले सदरमुकाममा आयोजित सर्वपक्षीय भेलालाई सम्बोधन गर्दै बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न नहुने बताए।
गोरखा, मंसिर २३ : एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई जसरी पनि सफल बनाउनुपर्ने बताएका छन्।
पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा, २०८० अन्तर्गत आज गोरखा आइपुगेका अध्यक्ष ओलीले सदरमुकाममा आयोजित सर्वपक्षीय भेलालाई सम्बोधन गर्दै बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न नहुने बताए।
‘बूढीगण्डकी आयोजना निर्माण गर्न ठुलो क्षेत्रफलका लागि धेरै रकम मुआब्जा दिइसकेका छौं। सरकारले अधिग्रहण गरी मुआब्जा दिएकाले आयोजना निर्माण अगाडि बढाउनुपर्छ,’ अध्यक्ष ओलीले भने।
आयोजना निर्माणका लागि आफूहरुले सरकारलाई घचघच्याउने काम गरिरहेको अध्यक्ष ओलीको भनाइ थियो। उनले भने, ‘नेपालका परियोजना निर्माण गर्दा फाइदा हुनेगरी बनाउन दिनुपर्छ।’
आयोजना निर्माणमा ढिला भयो भन्दैमा सरकारले अधिग्रहण गरेको जमिन जनताले कब्जा गर्न नमिल्ने अध्यक्ष ओलीले बताए। उनले विभिन्न बाहानामा समस्या सिर्जना गर्न नहुने बताए।
अध्यक्ष ओलीले पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइ भएकामा असन्तुष्टि व्यक्त गरे। फरक प्रसङ्गमा उनले राजनीतिलाई स्वस्थ्य र स्वच्छ बनाउनुपर्नेमा जोड दिए।











-(1)-1752494016.png)