Kathmandu Press

हिउँमै भेडीगोठ

दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर गर्छन् । ती गाडीका आवाजमले भेडीगोठालेलाई छुँदैन। उनीहरु आफ्नै धुनमा भेडाको स्याहारसुसारमा व्यस्त हुन्छन्।
हिउँमै भेडीगोठ

बागलुङ, मंसिर २३ : समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ। वरपर सेताम्य हिउँ। चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने। माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ। करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान छ, नजिकै छ, मध्यपहाडी लोकमार्ग।

दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर गर्छन् । ती गाडीका आवाजमले भेडीगोठालेलाई छुँदैन। उनीहरु आफ्नै धुनमा भेडाको स्याहारसुसारमा व्यस्त हुन्छन्।

एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो। लोकमार्गको ट्र्याक खुले पनि गाडी गुड्दैनथे। तीन जिल्लाका भेडी गोठालाको मात्रै यहाँ चहलपहल हुन्छ।

लोकमार्गसँगै जोडिएका गोठमा अहिले पनि गोठाला बस्दै आएका छन्। चिसो याममा गाली खुट्टा भेडीगोठाले काम गरिरहेका भेटिन्छन्।

धेरैजसो गोठालाहरु असार र कात्तिक महिनामै बेंसी झरे पनि चार जना अहिले पनि पातीहाल्ने क्षेत्रमा भेडाबाख्राको हेरचाहमा व्यस्त छन्। केही दिन अगाडि वर्षासँगै परेको हिमपातले तीन दिन दैनिकी कष्टकर बन्यो।

चिसो ह्वात्तै बढेपछि यहाँ भएका गोठाला बेंसी झर्ने तरखरमा छन्। अहिले पूर्वी रुकुमको भूमे गाउँपालिकाका श्रीप्रसाद पुन, जोरप्रसाद पुन, सत गुरुङ र रास गुरुङको परिवार भेडीगोठमा छन्।

दशकौंदेखि भेडापालन गरिरहेका उनीहरुका ठूलो सङ्ख्यामा भेडाबाख्रा हुँदा अहिलेसम्म पातीहाल्ने क्षेत्रमै छन्। पाँच पुर्खादेखि भेडापालन गर्दै आएका श्रीप्रसाद गुरुङ अहिले ६१ वर्षका भए। बाउबाजेले गर्दै आएको पेसालाई निरन्तरता दिएका गुरुङ आफ्ना हातपाखुरा चल्दासम्म यही काम गर्न चाहन्छन्।

उमेर ढल्दै गए पनि गुरुङमा काम गर्ने जोस जाँगर भने युवाको जस्तै छ। गुरुङका सबै दौतरी यही पेसामा लागे पनि अहिलेका नयाँ पुस्ताले भेडाबाख्रा पालनमा चासो दिँदैनन्। नयाँ पुस्ताले परम्परागत पेसालाई चासो नदिँदा पुर्खौंदेखि गर्दै आएको पेसा हराउने डर गुरुङलाई छ।

आफ्नो पालामा पढ्ने लेख्ने र विदेश जाने चलन नहुँदा गाउँका सबै मानिस पशुपालनमा लागेको सुनाउँदै अहिलेका पुस्ता विदेश पलायन हुन र बजार झर्ने गरेको गुरुङले बताए।

भेडापालनबाटै परिवार चलाउनेदेखि सम्पत्ति जोड्नेसम्म गरेको सुनाउने गुरुङले हिजोआज गाउँमा विकास हुँदै गएपछि पुरानो पेसा लोप हुने अवस्थामा पुगेको सुनाए। गत असारमा पशुचौपाया लिएर लेक आएको भन्दै चिसो बढेकाले अब गाउँ झर्ने गुरुङको भनाइ छ।

‘यो चिसोमा बस्न हामीहरुलाई बानी प¥यो, अहिले मात्रै होइन वर्षौंदेखि लेकबेंसी गरेर भेडाबाख्रा पाल्दै आएका छौँ, कहिले हिउँ, कहिले झरी वर्षा, यो सबै सहन थालेका छौँ, यो वर्षको पहिलो पटक मङ्सिरमै हिउँ प¥यो, हिउँले भेडाबाख्रा कठ्याङ्ग्रिएर मर्ने हुँदा अब गाउँमै जाने तयारी गरेका छौँ”, गुरुङले भन्नुभयो ।

पहिला गोठ, पशुचौपाया र गोठाला मात्र हुने गरेको बताउँदै उनले अहिले दिनदिनै गाडी आउँदा लेक निकै रमाइलो भएको बताए । गाडी चल्दा आफरुहरुलाई निकै सहज भएको उनले सुनाए। जङ्गलमा गाडी गुड्दा पनि रमाइलो लाग्ने उनको अनुभव छ।

पातीहाल्ने क्षेत्रमा तीन जिल्लाका भेडा गोठाला आउने गरे पनि बागलुङको निसीखोला र रोल्पाली भेडा गोठाले असोजमै बेसी झरेका थिए। निसीखोला र रोल्पामा बेंसीमा पनि चरन क्षेत्र बढी हुँदा उहाँहरु पहिले नै बेंसी झर्नुभएको हो।

 पूर्वी कुरुमका गोठाला भने पुरै झरिसकेका छैनन्। अहिले पातिहाल्ने क्षेत्रमा रहेका गोठालामध्ये जोरप्रसाद पुन पनि हुनुहुन्छ। पुनको यहाँ रहेको बथानमा करिब तीन सय भेडाहरु छन् । उहाँले पनि भेडा पाल्न थालेको तीन दशक बढी भयो । गाउँका सबै पशुपालनमा आबद्ध भएको हुँदा उहाँ पनि ११ वर्षकै उमेरदेखि यो पेसामा लाग्नुभएको थियो ।

भेडापालनले अहिलेसम्म गाउँका धेरैलाई विदेश जानबाट रोकेको पुन बताउँछन्। हिउँदमा बेंसी र बर्खामा लेकमा बसेर भेडा पाल्ने किसानको न्यूनतम पनि एक सय ५० बढी भेडाबाख्रा हुने हुँदै उहाँहरु बेचेर विदेश जान नसकेको उहाँको भनाइ छ।

जता गएर जे पेसा अङ्गाले पनि जीवनयापन नै गर्ने भएको भन्दै गाउँमै परम्परादेखि गरिँदै आएको काम गरे पनि परिवार चलाउन सकिने पुनले बताए। आफू अहिलेसम्म कुनै पनि ठूलाठूला सहरमा नपुगेको उनको भनाइ छ।

‘जहाँ गएर पनि काम गर्नै पर्छ, पैसा कमाउन सहज छैन, यहाँ लेक हो, हिउँले चिसो छ, फोहर कपडा लगाएर हिँड्नुपर्छ, तर कमाइ त यहाँ पनि छ नि,’ पुन भन्छन्, ‘अरुको गुलामी गर्नुभन्दा यही मालिक बनेर भेडागोठालो गर्नु राम्रो लाग्छ हाम्लाई, वर्षमा १५÷२० भेडाबाख्रा बेचे पनि परिवार चलाउन सकिन्छ।’

काम ठूलोसाना नहुने बताउँदै उनले छोरा भतिजलाई यही पेसामा लाग्न आग्रह गरेपछि उनीहरु नमानेको बताए।

मध्यपहाडी लोकमार्गले भेडीगोठ जोडिएपछि ग्राहक बथानमै आएर भेडाबाख्रा किन्ने गरेको सत गुरुङले बताए। पहिलेपहिले आफूहरु बागलुङको निसीखोला, बुर्तिबाङ, हुँदै गुल्मीको रिडीसम्म पुग्ने गरेको सुनाउँदै अचेले भेडा बिक्रीका लागि टाढा जान नपर्ने उनको भनाइ छ। हरेक वर्ष गोठबाटै लाखौँको भेडाबाख्राको बिक्री हुने गुरुङले बताए। रासस

प्रकाशित मिति: १३:१० बजे, शनिबार, मंसिर २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्