सरकारले जनचाहनाअनुसार काम गरिरहेको छ : प्रधानमन्त्री
पार्टी अध्यक्षले सात प्रदेशका सात वडामा पुग्नुपर्ने पार्टीको निर्णय बमोजिम आफू आज यहाँ आएको बताउँदै प्रधानमन्त्री दाहालले जनताको आशा अपेक्षाअनुसार पार्टीले काम नगरेको जनगुनासो आएपछि यो अभियान चलाइएको बताए।
कैलाली, मंसिर २२ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको बताएका छन्।
धनगढी उपमहानगरपालिका–१६ को घसिटा गाउँमा आयोजित पार्टीको विशेष रुपान्तरण अभियान कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे।
नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी राष्ट्र भारत र चीन र मित्रराष्ट्र अमेरिकाको भ्रमण गरेको बताउँदै उनले पार्टीको अभियान सकाएर विधान सम्मेलन गर्ने र त्यसपछि अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए।
पार्टी अध्यक्षले सात प्रदेशका सात वडामा पुग्नुपर्ने पार्टीको निर्णय बमोजिम आफू आज यहाँ आएको बताउँदै प्रधानमन्त्री दाहालले जनताको आशा अपेक्षाअनुसार पार्टीले काम नगरेको जनगुनासो आएपछि यो अभियान चलाइएको बताए।
‘यो अभियानले एकपटक फेरी पार्टीसँग जनतालाई जोड्न, जनतामा नयाँ, आशा जगाउन र जनयुद्धका घाइते, सहिद परिवार, बेपत्ताका परिवारसँग माओवादीलाई जोड्न सफल भएको छ,’ प्रधानमन्त्री दाहालले भने।
वडाको विकासका लागि आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाई थियो।
