विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रीद्वारा इजरायली अधिकारीलाई आग्रह
मन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको वर्तमान अवस्था इजरायली स्रोतमार्फत् यकिन गरिदिन, उनलाई सरक्षाको प्रत्याभूति दिलाइदिन र आगामी दिनमा हमासको नियन्त्रणमा रहेका बन्दी रिहाइ हुँदा पहिलो चरणमा नै जोशीलाई प्राथमिकतामा राखिदिन आग्रह गरेका थिए।
काठमाडौं, मंसिर २२ : परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा काम गर्ने निकायका संयोजक गल हर्चसँग कुराकानी गरेका छन्।
सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था पत्ता लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइको पहलका लागि मन्त्री साउदले शुक्रबार दिउँसो टेलिफोन संवाद गरेका हुन्।
संवादका क्रममा मन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको वर्तमान अवस्था इजरायली स्रोतमार्फत् यकिन गरिदिन, उनलाई सरक्षाको प्रत्याभूति दिलाइदिन र आगामी दिनमा हमासको नियन्त्रणमा रहेका बन्दी रिहाइ हुँदा पहिलो चरणमा नै जोशीलाई प्राथमिकतामा राखिदिन आग्रह गरेका थिए।
जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्यजस्तो मानेको र उनको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन दिएको बताइएको छ।
यसअघि गत मंगलबार परराष्ट्रमन्त्री साउदले कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए।