पोर्चुगलको राजदूतमा सुनिल नेपालको नाम सर्वसम्मत
समिति बैठकमा सदस्यहरूले राखेको जिज्ञासामा उनले आफ्नो ज्ञान, क्षमता र विवेकले भ्याएसम्म कार्यसम्पादन र जिम्मेवारी गौरव गर्न लायक हुनेगरी पूरा गर्ने बताए।काठमाडौं, मंसिर २२ : संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
पोर्चुगलको राजदूतका लागि सिफारिस भएका नेपालको नाम समितिको शुक्रबार बसेको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए।
बैठकमा प्रस्तावित राजदूत नेपालले समितिमा आफ्नो सोच, अनुभव, अवधारणासहितको कार्ययोजना प्रस्तुत गरेका थिए। समिति बैठकमा सदस्यहरूले राखेको जिज्ञासामा उनले आफ्नो ज्ञान, क्षमता र विवेकले भ्याएसम्म कार्यसम्पादन र जिम्मेवारी गौरव गर्न लायक हुनेगरी पूरा गर्ने बताए।
पोर्चुगलबाट हरेक वर्ष नेपालमा १० हजारको संख्यामा पर्यटक भित्र्याउने गरी काम गर्ने पनि उनको भनाइ छ। युवाको प्रतिनिधित्वलाई अब्बल सावित गर्न कामको प्राथमिकीकरणसहित नतिजा देखिने गरी आफूले कार्य सम्पादन गर्ने पनि नेपालले विश्वास दिलाएका थिए।
कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास खोल्ने र राजदूतमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो।