Kathmandu Press

सुन तस्करी प्रकरणमा बयान जारी, ९ चिनियाँसँग लिइँदै, २२ नेपालीको बयान सकियो

आयोगका अध्यक्ष पूर्व न्यायाधीश डिल्लीराज आचार्यले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग पनि सुनको अवैध कारोबार नियन्त्रण गर्न के कस्तो कानूनी व्यवस्था र नीतिगत सुधार गर्न आवश्यक भनेर परामर्श गर्ने जानकारी दिए।
सुन तस्करी प्रकरणमा बयान जारी, ९ चिनियाँसँग लिइँदै, २२ नेपालीको बयान सकियो

काठमाडौं, मंसिर २२ : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन ओसारपसारमा संलग्न नौजना चिनियाँ नागरिकसँग २४ गते आइतबारदेखि बयान लिने भएको छ।

आयोगले अवैध सुन कारोबारमा संलग्न पाईएका २२ नेपाली नागरिकसँग बयान लिईसकेको छ। यसबाहेक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका सम्बध्द कर्मचारी, काठमाडौं नयाँ सडकका सुन व्यवसायी, सुनचाँदी व्यवसायी महासंघका पदाधिकारी र नेपाल आभूषण संघका पदाधिकारी, नेपाल पारवहन केन्द्र र उद्योग वाणिज्य संघसँग सुनको अवैध कारोबारबारेमा जानकारी लिएको आयोग सचिवालयले जनाएको छ।

आयोगका अध्यक्ष पूर्व न्यायाधीश डिल्लीराज आचार्यले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग पनि सुनको अवैध कारोबार नियन्त्रण गर्न के कस्तो कानूनी व्यवस्था र नीतिगत सुधार गर्न आवश्यक भनेर परामर्श गर्ने जानकारी दिएका छन्।

आयोगले देशका केही भन्सार नाकाहरुको स्थलगत अवलोकन भ्रमण पनि गर्ने तयारी गरिरहेको थाहा भएको छ।

यसअघि आयोगका पदाधिकारीले रसुवाका केही सीमावर्ती नाकाहरुको स्थलगत अध्ययन भ्रमण गरेको थियो। ठूलो परिमाणको सुन समातिएपछि गठन भएको आयोगले सुनको तस्करी हुने नाकाहरुको अनौपचारिक भ्रमण गर्ने भएको छ।   

दशैं र तिहारको बीचमा रसुवा क्षेत्रको अध्ययन गर्न गएको आयोगको टोलीले अनौपचारिक तरिकाले केरुङ्गसम्मको स्थलगत अध्ययन गरेको थियो।

चीनको राजधानी बेइजिङबाट ठूला मालबाहक ट्रकमा ढुवानी गरेर सुन नेपालको उत्तरी सीमासम्म ल्याउने र त्यहाँबाट ससाना ट्रकमा सामानमा मिसाएर यता छिराउने गरिएको सूचना भ्रमण टोलीले पाएको थियो। रसुवा भन्सार पूर्वका केही स्थानमा यसरी छिराईएको सुन नेपालका उत्तरी नाकाका विभिन्न स्थानबाट तस्करहरुले ओसारपसार गरेको जानकारी पनि आयोगलाई उपलव्ध गराईएको सूत्रले बताएको छ।

आयोगको टोली त्यता रहेकै समयमा चिनियाँ प्रहरी नै पाँच किलो अवैध सुन समातेको थियो।

सरकारले पछिल्लो पटक ठूलो परिमाणमा सुन पक्राउ परेपछि ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग–२०८०’ गरेको थियो।

‘सुन आयोग’ भनी चर्चामा रहेको  आयोगले सुन तस्करीका अहिलेसम्म भएका न्यायीक अर्धन्यायिक विषयहरुबाट प्रवेश गरेर, सीआईबीको अनुसन्धानलाई स्रोत सामग्रीको रुपमा लिदैँ घटनाक्रमहरुलाई आफ्नै ढंगले अनुन्धान गरिरहेको जनाएको छ।  

‘सुनको अवैध पैठारीका सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा, यसअघि पटक पटक भएका सुन तस्करी सम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा पनि आवश्यक तथ्यगत जानकारी र सूचना आयोगले लिने भएको छ।

सुन तस्करीको प्रकृति, सुनको परिणाम र सुन तस्करीको दायरा, सुन तस्करी कार्यमा संलग्न व्यक्तिहरुको संलग्नता र थप अनुसन्धान, सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेशका सम्बन्धमा पनि आवश्यक जानकारी समितिले लिनेगरी कार्य योजना बनाइएको आयोगले यसअघि पत्रकार सम्मेलनमा जानकारी दिइसकेको छ।

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, मंसिर २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्