Kathmandu Press

‘लोकतान्त्रिक आचरण र प्रणाली बलियो बनाउन सङ्कल्प यात्रा’

‘मरेर गएको राजतन्त्र फर्किँदैन र फर्किन पनि दिइने छैन भन्ने सन्देश दिन हाम्रो संकल्प यात्रा हो। यो अभियान अहिलेको लोकतन्त्रलाई बलियो बनाउन हो, यही सन्देश दिन चाहेका छौं।’
‘लोकतान्त्रिक आचरण र प्रणाली बलियो बनाउन सङ्कल्प यात्रा’

कास्की, मंसिर २१ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका छन्।

अभियानका क्रममा आज साँझ मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उल्लेख गरे।

अध्यक्ष ओलीले देशमा राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नभएको बताए। उनले भने, ‘मरेर गएको राजतन्त्र फर्किँदैन र फर्किन पनि दिइने छैन भन्ने सन्देश दिन हाम्रो संकल्प यात्रा हो। यो अभियान अहिलेको लोकतन्त्रलाई बलियो बनाउन हो, यही सन्देश दिन चाहेका छौं।’

अध्यक्ष ओलीले अभियानका क्रममा देशका विभिन्न क्षेत्रका जनतासँग प्रत्यक्ष संवाद गरेर जनताका समस्या र विकास निर्माणका आवश्यकताका बारेमा जानकारी लिने काम गरिरहेको बताए।

‘देशभरिका जनतासँग प्रत्यक्ष भेटेर अब विकास कसरी गर्ने, कहाँको समस्या के छ? भनेर तीन हप्ताको लगातारको यात्रा प्रारम्भ गरेका छौं। एमालेप्रति जनताको आशा, विश्वास र भरोसा छ । त्यो भरोसा हामी टुट्न दिने छैनौँ, कायम राख्ने छौं,’ अध्यक्ष ओलीले भने।

उनले एमाले सरकारमा पुगेर जनतालाई सुखी र खुसी बनाउन सम्भव छ भनेर प्रमाणित गरेको समेत बताए। आगामी दिनमा पार्टीले समाज परिर्वतनको नेतृत्व गर्ने उनले उल्लेख गरे।

अभियानका क्रममा हालसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जनताका  समस्या लिइएको बताउँदै काठमाडौँमा पुगेर गम्भीर छलफल गरी कसरी अघि बढ्ने भनेर नयाँ नीति तय गरिने अध्यक्ष ओलीको भनाइ थियो।

प्रकाशित मिति: २०:३८ बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्