एनसेलको सेयर खरिद-बिक्री रोक्न उच्च अदालतकाे अल्पकालिन अन्तरिम आदेश
उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।
काठमाडौं, मंसिर २१ : उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री गर्ने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ।
उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।
अदालतले आदेशमा खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगराउन भन्दै रिट निवेदक र विपक्षीलाई छलफलमा डाकेको हो।
उक्त विवादमा अदालतले रिट निवेदक र विपक्षीलाई २५ मंसिरमा छलफलमा उपस्थित हुन आदेश दिएको छ। एनसेलको शेयर खरिदबिक्रीको निर्णय सार्वजनिक भएपछि उक्त कारोबारलाई नेपालभित्र मान्यता नदिन मागसहित गोकुलबहादुर रोकायाले रिट निवेदन दर्ता गरेका थिए।
अदालतले संसदको सार्वजनिक लेखा समितिले शेयर खरिदबिक्री रोक्का गर्न सरकारलाई निर्देशन दिएको, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत छानबिन गर्ने भनेर सूचना निकालेको र प्रधानमन्त्रीले समेत यसबारे अध्ययन गर्न निर्देशन दिएको भन्दै यस विषयमा रिट निवेदक र विपक्षीलाई छलफलमा बोलाउने आधार लिएको छ।
उच्च अदालतले शेयर खरिद बिक्रीबारे कुनै निर्णय गरेको भए त्यो समेत लिएर छलफलमा आउन भनेको छ। मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यलाई बिक्री गरेको जानकारी गराएपछि विवाद उत्पन्न हुँदै आएको छ।
एनसेलको ८० प्रतिशत शेयर स्वामित्व भएको रेनोल्ड होल्डिङ्स नामक कम्पनी सतीशलालको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई करिब ६ अर्ब नेपाली रुपैयाँमा बिक्री गरेको तथ्य बाहिरिएको थियो।











-(1)-1752494016.png)