Kathmandu Press

‘स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आयोग शक्तिशाली छ’

‘स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रजातान्त्रिक व्यवस्थाको मूल मर्म हो। निर्वाचनले जनतालाई शासन व्यवस्थामा पठाउन को उपयुक्त छ भनेर छनोट गर्ने अवसर प्रदान गर्छ।’
‘स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आयोग शक्तिशाली छ’

काठमाडौं, मंसिर २१ : परराष्ट्रमन्त्री एनपी साउदले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा कानुनमा सुधार गर्न सरकार प्रतिबद्ध रहेकोे बताएका छन्।

एसियाको निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा काठमाडौंमा भएको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रजातान्त्रिक व्यवस्था बलियो बनाउन निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताए।

निर्वाचन आयोग र एसियन नेटवर्क फर फ्री इलेक्सनको आयोजनामा छैठौं एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरमलाई सम्बोधन गर्दै उनले भने ‘स्वतन्त्र र निष्पक्ष निर्वाचन प्रजातान्त्रिक व्यवस्थाको मूल मर्म हो। निर्वाचनले जनतालाई शासन व्यवस्थामा पठाउन को उपयुक्त छ भनेर छनोट गर्ने अवसर प्रदान गर्छ।’  

संवैधानिक प्रावधानअनुसार नेपालमा निर्वाचन आयोग स्वायत्त निकाय रहेको उनले बताए। आयोगले दुई कार्यकालका लागि तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको पनि उनले बताए।  

नेपाल लोकतान्त्रिक गणतन्त्र घोषणापछि भएका निर्वाचनबाट सबै वर्ग र लिंगका हकमा पहुँच सुनिश्चित भएको भनाइ उनले राखे।

‘हामीकहाँ महिलालाई न्युनतम ३३ प्रतिशत प्रतिनिधित्व गराउनैपर्ने प्रावधान छ । तर हालैको स्थानीय तह निर्वाचनमा महिला प्रतिनिधित्व ४१.६ प्रतिशत हुनसक्नु हाम्रा लागि निकै सुखद कुरा हो,’ उनले भने, ‘प्रजातन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निष्पक्ष निर्वाचन हो, हाम्रो निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन अधिकारसम्पन्न छ।’  

सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापनसम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो । बिहीबार समापन भएको सम्मेलनमा नेपाललगायत विभिन्न मुलुकका प्रतिनिधिले सात विषयमा केन्द्रित रही कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, मंसिर २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्