मानवअधिकारको सम्मान भएमात्र लोकतन्त्र बलियो : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले मानवअधिकारको प्रत्याभूति दिलाएर आयोग सदैव सर्वसाधारण जनताका लागि आस्था, विश्वास र भरोसाको केन्द्र बन्नुपर्ने पनि बताए।-1701949042.jpg)
काठमाडौं, मंसिर २१ : राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भएमात्र मुलुकमा कानूनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन बुझ्दै उनले मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भएमात्र मानवअधिकारको प्रत्याभूतिबाट नागरिक बञ्चितहुनु नपर्ने बताए।
राष्ट्रपति पौडेलले मानवअधिकारको प्रत्याभूति दिलाएर आयोग सदैव सर्वसाधारण जनताका लागि आस्था, विश्वास र भरोसाको केन्द्र बन्नुपर्ने पनि बताए।
उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने क्रममा यथार्थ र प्रभावकारी अनुगमनमा जोड दिँदा अझ मानवअधिकारमैत्री हुन सघाउ पुग्ने बताए।
राष्ट्रपति पौडेलले नेपालमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकलगायत कुनै पनि प्रकारका विभेद हुन नदिई समानता, समावेशिता र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने राष्ट्रिय संकल्पलाई साकार पार्न आवश्यक रहेको पनि बताए।
उनले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक, वालिग मताधिकार, पूर्ण प्रेस स्वतन्त्रतालगायत आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा उतारी मानव अधिकारको परिपालना गर्ने संस्कृतिको निर्माण गर्नेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए।
मानवअधिकार हननका घटनाको उजुरीमा छानविन तथा अनुसन्धान गरी कारवाहीको लागि सिफारिस गर्ने कामतथा नेपाल पक्ष भएका मानव अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयनको अनुगमन गर्ने दायित्व समेत रहेकोले आयोगको जिम्मेवारी बढ्दै गएको राष्ट्रपति पौडेलले उल्लेख गरे।
त्यसक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनका बारेमा संक्षिप्त जानकारी पनि गराएका थिए।











-(1)-1752494016.png)