मुलुक संकटग्रस्त भयो, परिवर्तनका लागि जनदबाब सिर्जना गर्छौंः लिङ्देन
उनले संविधानले नै काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै परिवर्तनका लागि जनदबाब आवश्यक भएको बताएका हुन्।
काठमाडौं, मंसिर २१ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक संकटग्रस्त बन्दै गएको भन्दै अब परिवर्तनका लागि व्यापक जनदबाब सिर्जना गरिने बताएका छन्।
पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्दै उनले संविधानले नै काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै परिवर्तनका लागि जनदबाब आवश्यक भएको बताएका हुन्।
देश आर्थिक, सामाजिक, राजनीतिक हिसाबले संकटग्रस्त बन्दै गएको, राजनीतिक नेतृत्वमात्र होइन, व्यवस्थासमेत असफल भएको सन्दर्भमा संविधान काम गर्न नसक्ने अवस्थामा पुगेकाले परिवर्तनका लागि व्यापक जनदबाब सिर्जना गर्न आन्दोलनको बाटो लिने निर्णय भएको उनले बताए।
उनका अनुसार बैठकले आगामी पुस १, २ र ३ बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने एजेण्डाहरु पास गरेको छ।
त्यसको कार्ययोजना मस्यौदा प्रस्ताव परिमार्जनसहित पास गरेर केन्द्रीय कार्यसमितिको बैठकमा लाने निर्णय भएको छ।
राप्रपाको नियमावली संशोधन र परिमार्जनसहित केन्द्रीय कार्यसमितिमा लाने निर्णय पनि गरिएको जनाइएको छ।
पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस भव्य तरिकाले उत्सवको रुपमा मनाउने तथा राष्ट्रिय सभाको निर्वाचनमा आवश्यक तयारी गर्न, राजनीतिक विभागका प्रमुख वुद्धिमान तामाङ्लाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।











-(1)-1752494016.png)