Kathmandu Press

रुसी सेनामा भर्ती गराउने भन्दै ठग्ने गिरोहका १२ पक्राउ

पक्राउ पर्नेहरुमा दीपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन्।
रुसी सेनामा भर्ती गराउने भन्दै ठग्ने गिरोहका १२ पक्राउ

काठमाडौं, मंसिर २० : नेपालीलाई रुसी सेनामा भर्ती गराइदिन्छौं भन्दै ठगी गर्ने गिरोह रहेको आरोपमा पक्राउ गरिएका १२ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार छानबिनपछि विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेहरुमा दीपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन्।

उनीहरुको साथबाट विभिन्न व्यक्तिहरुको राहदानी, रकम र लेनदेनका कागजातहरु बरामद भएको एसएसपी खत्रीले बताए। उनले भने, ‘उहाँहरुबाट पासपोर्टहरु, नगद र कागजातलगायतका दस्तावेजहरु बरामद भएका छन्।’

पक्राउ परेकाहरुलाई कारबाहीका लागि मुद्दा चलाउन अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिइएको जानकारी उनले दिए।

पक्राउ परेकामध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा गरेर ४३ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार, दाहाल पहिले कन्सल्टेन्सी चलाउँथिन्।

पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा प्रकरणका मुख्य आरोपी हुन् । उनी म्यानपावर सञ्चालकसमेत हुन् । काठमाडौं प्रहरीका डीएसपी अंगुर जिसीका अनुसार, उनले दुई पटक गरेर १८ जनालाई रुस पठाएको बयानमा स्वीकारेका छन् ।

रुस–युक्रेन द्वन्द्व चलिरहँदा नेपाली रुसी सेनामा रहेको पुष्टि भएको थियो। अवैध भर्तीको खबर बाहिरिएपछि प्रहरीले त्यसरी पठाउने गिरोहको खोजी थालेको जनाएको छ।

प्रकाशित मिति: १८:५९ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्