Kathmandu Press

वर्तमान सरकार देशको अर्थतन्त्र जोगाउन असफल भयो : ओली

‘यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो । यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ।’
वर्तमान सरकार देशको अर्थतन्त्र जोगाउन असफल भयो : ओली

रुकुम पश्चिम, मंसिर २० : नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप लगाएका छन्।

एमालेको समृद्धिका लागि संकल्प यात्रका क्रममा रुकुम पश्चिम आइपुगेका ओलीले अर्थतन्त्र जोगाउन सरकार असफल हुँदा देशमा आर्थिक संकट गहिरिँदै गएको बताए।

रूकुमकोटमा आयोजित सभामा अध्यक्ष ओलीले अहिले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएमा दुःख व्यक्त गरे। उनले भने, ‘यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो । यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ।’

देशलाई असफल बनाउन खोज्ने देशभित्रका केही तत्व र देश बाहिर नेपालको अहित चाहने तत्वविरुद्ध सामूहिकरूपमा लड्नुपर्ने उनले बताए।

‘सरकारका कारण धेरै समस्या आएका छन्। देश असफल बनाउने अवस्थामा लान खोजिएको छ, देशभित्रका केही तत्व र देश बाहिर रहेका नेपालको अहित चाहनेहरुविरुद्ध सबै सचेत बनौं,’ ओलीले भने, ‘यो प्रणालीलाई ठूलो लगानी गरेर ल्याएका हौं, यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नुपर्दछ, देशको स्वाधीनतामा गर्व गरौं। अब सबै मिलेर अप्ठ्यारो पहिचान गरौं।’

एमालेले स्थानीय माग र आवश्यकताहरूको पहिचान गरेर समाधनका उपायहरू खोज्न पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा तय गरेको पनि ओलीले बताए।

प्रकाशित मिति: १३:५५ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्