‘शासकीय प्रणाली सुधारमा सरकार केन्द्रित छ’
सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन, अब सरकारको ध्यान शासकीय सुधार गर्ने कुरामा खाली प्रशासकीय मात्रै होइन, समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामीले छलफल गरेका छौं,’ प्रधानमन्त्री दाहालले भने।
काठमाडौं, मंसिर २० : प्रधानमन्त्री पुष्पकमल दाहालले शासकीय प्रणालीमा सुधार गर्ने कुरामा सरकार केन्द्रित रहेको बताएका छन््।
बुधबार आयोजित ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रियामा उनले समग्र शासकीय प्रणालीमा सुधार गरेर सरकार अघि बढ्न चाहेको बताए।
शासकीय प्रणालीमा समग्र सुधारका लागि शासकीय सुधार आयोग गठनको तयारी भइरहेको प्रधानमन्त्री दाहालले बताए।
‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन, अब सरकारको ध्यान शासकीय सुधार गर्ने कुरामा खाली प्रशासकीय मात्रै होइन, समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामीले छलफल गरेका छौं । र, शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौं,’ प्रधानमन्त्री दाहालले भने।
आजको छलफलले हाम्रो सोचलाई प्रत्यक्षरुपले सहयोग पुग्ने बताउँदै उनले सेवा प्रवाहको क्षेत्रमा स–साना काममा सुधार गर्दैै ठूलाठूला कामलाई प्रायोटाइज गरेर जान आवश्यक भएको बताए।
प्रधानमन्त्री दाहालले जनताले अनुभूति गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउनका लागि समेत मुलुकको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको दोहोर्याए। उनले जनताले प्रत्यक्ष रुपमा आफूलाई सेवा प्राप्त भएको अनुभूत गरेन भने सरकार, राजनीतिक दल र कर्मचारीतन्त्रप्रति पनि जनताको भरोसा कमजोर हुँदै जाने बताए।
प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखी काम गर्न मन्त्रालयका सचिवहरुलाई दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।
अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमुल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्ने उनको भनाई थियो। उनले जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न सबै निकयलाई आग्रह गरे।











-(1)-1752494016.png)