Kathmandu Press

विज्ञान र प्रविधिको विकासमा सरकार दृढ छ : प्रधानमन्त्री दाहाल

उनले प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान युवाहरुलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौकामा थप अभिवृद्धि हुने विश्वास दिलाए।
विज्ञान र प्रविधिको विकासमा सरकार दृढ छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, मंसिर २० : प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान र प्रविधिको विकासमा सरकार दृढ रहेको बताएका छन्।

बुधवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को ४१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारका आफ्नै बाध्यता भएपनि ति बाध्यताका नाममा विज्ञान र प्रविधिको विकासमा पछि हट्ने छुट नरहेको बताए।

‘नेपाल सरकारले तपाईले अपेक्षा गरे अनुसारको स्रोत प्रदान गर्न सकेको छैन। त्यो कुराको हेक्का पनि मलाई छ। सरकारका बाध्यता हुन्छन्। तर, ति बाध्यताका नाममा विज्ञान र प्रविधिको विकासमा पछि हट्न हुँदैन भन्ने मेरो विश्वास छ,’ उनले भने, ‘म आफैं पनि विज्ञानको विद्यार्थी हुनाको नाताले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरु मैले राम्रोसँग महसुस गरेको छु।’

विज्ञान तथा प्रविधिको विकासका लागि नेपाल सरकारले एक अर्बको कोष स्थापना गरि चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश गरेको स्मरण गराउँदै उनले प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान युवाहरुलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौकामा थप अभिवृद्धि हुने विश्वास दिलाए।

‘विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ,’ उनले भने, ‘केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ।’

नाष्टको प्रविधि भवन र वायोमेडिकल रिसर्च ल्याब्रोटरीको भवन उद्घाटन गरेका प्रधानमन्त्री दाहालले जनशक्ति, साधन, स्रोत र उपकरणको व्यवस्था मिलाउने कुरामा सरकारको तर्फबाट अधिकतम सहयोग हुने उनको भनाई थियो।

नाष्टप्रति जनताको अपेक्षा बढि नै रहेको बताउँदै उनले यँहा सञ्चालन हुने कार्यक्रमहरुको स्तर बढाउन सरकार दृढ रहेको समेत उल्लेख गरे।

प्रकाशित मिति: ११:४३ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्