Kathmandu Press

विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता

संयुक्त राष्ट्रसंघको आयोजनामा घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।
विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता

काठमाडौं, मंसिर २० : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको आयोजनामा घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

त्यस अवसरमा संयुक्त राष्ट्रसंघ कार्यसञ्चालन समन्वय विभागका उपमहासचिव अतुल खरेलले उपप्रधामन्त्री खड्कासँग शिष्टाचार भेट गरेका थिए। भेटमा  उपमहासचिव खरेले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपालले निर्वाह गरेको महत्त्वपूर्ण योगदानको सराहना गरेका थिए।

उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसंघको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको जानकारी दिए। त्यसका लागि संयुक्त राष्ट्रसंघबाट प्राप्त सहयोगप्रति उनले आभार व्यक्त गरे।

संयुक्त राष्ट्रसंघ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले पनि उपप्रधानमन्त्री खड्कासँग भेट गरेका थिए। त्यस अवसरमा ल्याक्क्रोइक्सले नेपालको योगदानको कदरस्वरुप संयुक्त राष्ट्रसंघको मुख्यालय तथा शान्ति मिशनहरूमा नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ११:३८ बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्