Kathmandu Press

नियम अनुसार सञ्चालनमा नआएका औषधि पसलहरू बन्द गर्ने मेयर बालेनको चेतावनी

उल्लेखित कानुन अनुसार नचलेका औषधि पसलहरुलाई यही मंसिर २९ गतेभित्र कानुनबमोजिम सच्याउन मेयर शाहले निर्देशन दिएका छन्।
नियम अनुसार सञ्चालनमा नआएका औषधि पसलहरू बन्द गर्ने मेयर बालेनको चेतावनी

काठमाडौं, मंसिर २० : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरभित्र अनधिकृत रूपमा औषधि पसलहरू सञ्चालन भइरहेको बताउँदै त्यस्ता औषधि पसलहरू बन्द गर्ने चेतावनी दिएका छन्।

महानगरभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको तथा विद्यमान कानुनको परिपालना नगरेको उजुरी प्राप्त भएको उल्लेख गर्दै मेयर बालेनले संस्थागत रूपमा सूचना निकालेर चेतावनी दिएका हुन्।

‘औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री वितरण भइरहेको, नार्कोटिक औषधीहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख नराख्ने गरिएको गुड फार्मेसी प्राक्टिस अनुसार औषधि पसल व्यवस्थापन नगरिएको र काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको र यस विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार नपाइएकोले यो सूचना प्रकाशन गरेको मितिले १० दिन भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ’, महानगरद्वारा मंगलवार साँझ जारी सूचनामा उल्लेख छ।

उल्लेखित कानुन अनुसार नचलेका औषधि पसलहरुलाई यही मंसिर २९ गतेभित्र कानुनबमोजिम सच्याउन मेयर शाहले निर्देशन दिएका छन्।

‘काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधी बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ’, मेयर शाहले सूचना जारी गर्दै भनेका छन्, ‘काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भएअनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ। त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुनबमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ।’

सोबमोजिम सुधार नभए त्यस्ता औषधि पसल बन्द गराइने चेतावनी उनले दिएका छन्।

 

प्रकाशित मिति: १०:५० बजे, बुधबार, मंसिर २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्