Kathmandu Press

नेपाली सेनाका विषयमा अनर्गल प्रचारबाजी भयो : प्रधानसेनापति शर्मा

व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
नेपाली सेनाका विषयमा अनर्गल प्रचारबाजी भयो : प्रधानसेनापति शर्मा

काठमाडौं, मंसिर १९ : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाभित्र अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शर्माले मंगलबार जंगी अड्डामा कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमका सहभागीलाई सम्बोधनका क्रममा यस्तो चिन्ता व्यक्त गरेका हुन्।

प्रधानसेनापति शर्माले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने बताउँदै व्यक्तिगत रूपमा गर्ने गल्तीको भागीदार पनि स्वयं व्यक्ति नै हुने भनाई पनि राखे । व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

पछिल्लो समयमा विभिन्न सञ्चार माध्यमहरूको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारबाहीहरू, यसको नियमित संचालन प्रकृया लगायतका विषयमा अनर्गल प्रचारबाजी भइरहेको भनाई शर्माको थियो। सेनाले मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरूबाट निर्देशित भएर आफ्नो दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको पनि शर्माले बताए।

नेपाली सेना असंख्य सिपाहीहरूको रगत पसिनाको जगमा उभिएको बताउँदै संस्थाभित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिद्ध गर्ने दुराशयले प्रेरित भइ कार्य गर्नेहरूको दुस्प्रयासले नेपाली सेना कमजोर नहुने समेत शर्माले बताए।

रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया सुरु भएसँगै सम्भावित उमेदवारहरूको उमेर, शैक्षिक योग्यता आदिलाई विषयबस्तु बनाइ अतिरञ्जित तवरले प्रचारबाजी भएको भन्दै शर्माले दुःख पनि व्यक्त गरेका छन् । शैक्षिक प्रमाणपत्र, नागरिकता जस्ता कागजातहरू आवश्यकताअनुसार सम्बद्ध निकायहरूबाट यकिन गरेर मात्र जंगी अड्डाले कारबाही अघि बढाउने गरेको प्रसङ्ग पनि प्रधानसेनापति शर्माले सुनाएका थिए।

कार्यक्रममा शर्माले जाँचबुझ गर्ने क्रममा केही पदाधिकारीहरूको कागजात शंकास्पद देखिएको अवस्थामा आफूले कारबाहीको लागि सिफारिस गरेको स्मरण पनि गराएका थिए। अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाइ आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्न शर्माले सकलदर्जालाई सुझाव दिएका छन्।

 

प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्