Kathmandu Press

विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताको सम्पत्ति समेत रोक्का गर्न ताकेता 

नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र पोलिटब्युरो सदस्य माइला लामाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।
विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताको सम्पत्ति समेत रोक्का गर्न ताकेता 

काठमाडौं, मंसिर १९ : काठमाडौं जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित कार्यकर्ताको सम्पत्ति समेत रोक्का गरिदिएको छ। 

नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र पोलिटब्युरो सदस्य माइला लामाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। उदयपुर जिल्ला अदालतले विप्लव नेतृत्वका कार्यकर्ता प्रतिवादी तिलक भन्ने मानबहादुर दनुवार, केदार राई, प्रतिवादी लालबहादुर खत्री, चन्द्रबहादुर बुढाथोकी र प्रतिवादी जानुकामाया तामाङको सम्पत्ति रोक्का गर्न जिल्ला प्रहरी कार्यालय, उदयपुरलाई आदेश दिएको छ। सम्पत्ति रोक्का गर्न पत्राचार गरिएकामध्ये बुढाथोकी केन्द्रीय नेता हुन्। 

गत असोज १० गते उदयपुर अदालतले प्रहरीलाई पत्र लेख्दै ती नेता कार्यकर्ताहरूको सम्पत्ति रोक्का राखी जानकारी पठाइ दिन ताकेता गरेको हो। अदालतले राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दाका यी प्रतिवादीको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम उनीहरूको सम्पत्ति, सेवा, सुविधा रोक्का राख्न भएको आदेशलाई कार्यान्यवन गर्न भनेको छ।

पत्रमा प्रहरी नायब निरीक्षक विष्णुहरि लामिछानेसमेतको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी सुरेन्द्र थापासमेत भएको राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दाको फैसला कार्यान्वयनका सन्दर्भमा अदालतले उक्त पत्र लेखेको हो। उदयपुर अदालतबाट २०७८ असोज १७ गते फैसला भएको उक्त पत्रमा उल्लेख छ। पत्रमा उनीहरूलाई फरार जनाइएको छ। अदालतका शाखा अधिकृतले प्रहरीलाई पठाएको पत्रमा २०७९ साउन २ गते पनि पत्र पठाएर सम्पत्ति रोक्का गर्न भनेको स्मरण समेत गराइएको छ। 

तर अघिल्लो पत्रको जवाफ हालसम्म प्राप्त नभएपछि पछिल्लो ताकेता पत्र लेख्नुपरेको जनाउ समेत दिइएको छ। पत्रमा अदालतले सरकारी वकिलको कार्यालयलाई पनि बोधार्थ दिई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको सम्पत्ति, सेवासुविधा बमोजिम रोक्का राख्न भनेको छ। अदालतले सम्पत्ति रोक्काको जानकारी पठाइदिन समेत पत्रमा उल्लेख गरेको छ। अदालतको उक्त पत्रलाई लिएर विप्लप नेतृत्वको नेकपाले मंगलबार विज्ञप्ति निकाल्दै सरकारसँग भएको तीन बँुदे सहमतिको ठाडो उल्लंघन गरेको भन्दै तीन दिने आन्दोलन नै घोषणा गरिसकेको छ। 


 

प्रकाशित मिति: १६:११ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्