Kathmandu Press

सुनुवाइ समितिमा तीन न्यायाधीशविरुद्ध उजुरी, तीनजनाविरुद्ध परेन 

न्यायाधीश सिफारिस भएकामध्ये सारङ्गा सुवेदी, डा.टेकप्रसाद ढुंगानाविरुद्ध उजुरी परेको छ भने महशे शर्मा पौडेल, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध कुनै उजुरी परेको छैन। न्याय परिषदको निर्णय अनुरुप गत मंसिर ५ गते उनीहरुलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको थियो। 
सुनुवाइ समितिमा तीन न्यायाधीशविरुद्ध उजुरी, तीनजनाविरुद्ध परेन 

काठमाडौं, मंसिर १९ : सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशमध्ये तीनजना न्यायाधीशविरुद्ध मात्र संसदीय सुनुवाइ विशेष समितिमा उजुरी परेको छ। 

न्यायाधीश सिफारिस भएकामध्ये सारङ्गा सुवेदी, डा.टेकप्रसाद ढुंगानाविरुद्ध उजुरी परेको छ भने महशे शर्मा पौडेल, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध कुनै उजुरी परेको छैन। न्याय परिषदको निर्णय अनुरुप गत मंसिर ५ गते उनीहरुलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको थियो। 

संसदीय सुनुवाइ समितिमा सुवेदीविरुद्ध पाँचवटा उजुरी परेको छ। उनीविरुद्ध दर्ता भएका उजुरीमध्ये धनुषाकी आरती साहको मुद्दामा गरेको आदेश र वीरगञ्ज उच्च अदालतमा हुँदा गरेको आदेशसँग सम्बन्धित रहेको जनाइएको छ। दाइजो नल्याएको भन्दै आरती साहलाई उनका परिवारले गत जेठ ७ गते हत्या गरेको आरोपमा मुद्दा चलाइएका उनका श्रीमान् मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई साधारण तारिखमा छाड्न आदेश गरेको आरोप उजुरीमा छ। 

उक्त आदेश गर्दा सुवेदी अनुचित प्रभावमा परेको दाबीसहित सर्वोच्चको न्यायाधीश हुन  रोकिनुपर्ने भनाई उजुरीकर्ताको छ। वीरगञ्ज उच्च अदालतमा रहुँदा कर्तव्य ज्यान मुद्दाका १२ जना प्रतिवादीमध्ये सात जनालाई धरौटीमा छाडेको आरोपसहित अर्को उजुरी पनि सुवेदीविरुद्ध दर्ता भएको छ। कीर्ते मुद्दाका प्रतिवादीलाई सफाइ दिएको भनेर अर्को उजुरी पनि दर्ता गरिएको छ। 

यस्तै, सर्वोच्चमा प्रस्तावित अर्का न्यायाधीश टेकप्रसाद ढुंगानाविरुद्ध तीनवटा उजुरी दर्ता भएका छन्। उच्च अदालत पाटनमा रहँदा काठमाडौंको तीनकुनेमा रहेको अरुण बहुउद्देश्यीय सहकारी संस्थाको लिलामसँग सम्बन्धित मुद्दामा बढी कबोल गर्नेलाई हराइएको दाबीसहित उजुरी परेको छ। ढुंगानाले दुई करोड ५० लाखको कबोललाई अस्वीकार गरी रद्द भएको पहिलेकै एक करोड ८२ लाख कबोल गर्नेलाई मुद्दा जिताएको दाबी उजुरीकर्ताको छ। योसहित अरु दुईवटा उजुरीसमेत ढुंगानाविरुद्ध दर्ता भएका छन्। 

अर्का प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानविरुद्ध एउटा उजुरी परेको जनाइएको छ। मुसलमानविरुद्ध पाटन उच्च अदालतको हेटौँडा इजलासमा रहँदा सम्बन्धविच्छेद भइसकेकी बुहारीलाई अंश मुद्दा जिताएको आरोप छ। प्रस्तावित न्यायाधीशहरु शर्मा पौड्याल, सुनिल पोखरेल र ढकालविरुद्ध भने कुनै उजुरी परेको छैन।

पौड्याल पाटन उच्च अदालतको कामु मुख्य न्यायाधीशबाट सर्वोच्चमा सिफारिस भएका थिए। यस्तै पोखरेल र ढकाल कानुन व्यवसायीबाट न्यायाधीश बनेका हुन्। सुनुवाइ विशेष समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। उक्त समय आइतबार नै सकिएको छ। 

प्रकाशित मिति: १४:३९ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्