Kathmandu Press

पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे तीन दिने संघर्षका कार्यक्रम घोषणा

पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे तीन दिने संघर्षका कार्यक्रम घोषणा

काठमाडौं, मंसिर १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, नेता माइला लामालगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ।

जिल्ला अदालत काठमाडौंले सोमबार उनीहरूविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेको हाे। जसअनुसार १९ गते साँझ मसाल जुलुस गर्ने, २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने नेकपाले विज्ञिप्तमार्फत जनाएकाे छ।

जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो। गत मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ ९१३० अनुसार  ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ।

विप्लवको हस्ताक्षरमा जारी विज्ञप्तिमा पक्राउ पुर्जी जारी हुनु २०७७ फागुन २१ गते आफूसँग सरकारले गरेको ३ बुँदे सहमतिको उल्लंघन र मुलुकका समस्याको शान्तिपूर्ण निकास दिन भइरहेका पहलमाथिको विध्वंसात्मक हमला भएको जनाएको छ। ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानुनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्र्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

राज्यसँग भएका सहमतिलाई कानुनको अंग बनाएर समस्या समाधानमा गर्न मद्दत गर्नुपर्ने अदालतले नै गैर कानुनी कदम चालेको भन्दै विज्ञप्तिमा शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको आशंका गरिएको छ।

प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, मंसिर १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्