‘जलवायु परिवर्तनको मारमा परेका मुलुकलाई वित्तीय र प्राविधिक सहयोग गर्न बिर्सनु भएन’
पौडेलले जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सिमानाभित्र नभई सीमा पारी र विश्वस्तरमासमेत पर्न जाने बताए।
काठमाडौं, मंसिर १९ : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका राष्ट्रहरु भएको कुरा कसैले बिर्सन नहुने बताएका छन्।
मंगलबार ललितपुरमा इसिमोड स्थापनाको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पौडेलले जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सिमानाभित्र नभई सीमा पारी र विश्वस्तरमासमेत पर्न जाने बताए।
‘अहिलेको विश्व मानव सृजित जलवायु परिवर्तन,जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले सङ्कटमा छ,’ उनले भने, ‘पहाडी संवेदनशील भू–बनौट र कमजोर आर्थिक सामाजिक कारणहरूले गर्दा हिन्दुकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ।’
उनले मानव सिर्जित जलवायु परिवर्तनको चपेटामा विश्व समुदाय परेको धारणा राख्दै पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव व्यापक परेको बताएका छन्। पहाडी संवेदनशील भू–बनौट र कमजोर आर्थिक सामाजिक कारणहरूले गर्दा हिन्दुकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव व्यापक भएको उनले बताए।
नेपालजस्ता मुलुकले हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शुन्यसरह योगदान गरे पनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यधिक भएकोले नेपालका हिमाली क्षेत्र तथा त्यहाँका बासिन्दामा त्यसको असर धेरै परेको पौडेलले बताएका छन्। उनले नेपालका लागि यो ठूलो चुनौति बनेको समेत उल्लेख गरे।
‘जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु आज हाम्रा सामु ठूलो चुनौती छ । हिमालमा हिउँ पग्लने, हिमताल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्सानी पुगिरहेको छ,’ राष्ट्रपति पौडेलले भने।











-(1)-1752494016.png)