Kathmandu Press

मुस्लिम आयोगको अध्यक्षमा सिफारिश मियाको नाम परिषद्ले फिर्ता लिने 

काठमाडौं, फागुन ९ : संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस समिममिया अन्सारीको नाम संवैधानिक परिषद्ले नै फिर्ता लिने भएको ....

मुस्लिम आयोगको अध्यक्षमा सिफारिश मियाको नाम परिषद्ले फिर्ता लिने 
मियाकाे फेसबुकबाट

काठमाडौं, फागुन ९ : संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस समिममिया अन्सारीको नाम संवैधानिक परिषद्ले नै फिर्ता लिने भएको छ । 

नेकपा उच्च स्रोतका अनुसार, उक्त पदका लागि अन्सारी ‘अयोग्य’ देखिएपछि संवैधानिक परिषद्ले नै उनको नाम फिर्ता लिई नयाँ नाम सिफारिश गर्ने विकल्प खोजिएको हो ।

संवैधानिक परिषद्ले आफूले नियुक्तिका लागि सिफारिश गरिएका व्यक्ति संसदीय सुनुवाइका क्रममा रहेका बेला नाम फिर्ता लिन मिल्छ कि मिल्दैन भन्ने आशंका बाँकी छ तर वरिष्ठ अधिवक्ता समेत रहेका सुनुवाई समितिका सभापति कर्णले भने, ‘संवैधानिक परिषद्ले आफूले सिफारिश गरेका व्यक्तिको नाम फिर्ता लिन सक्छ । यसमा कुनै पनि कानूनी बाधा हुँदैन ।’

Hardik ivf

वैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको समिममिया अन्सारीको योग्यतामा संसदीय सुनुवाइ समितिले गम्भीर प्रश्न उठाएर तीन दिनभित्र सम्बन्धित निकायबाट नागरिकता, शैक्षिक योग्यता र राजनीतिक दलको सदस्यताबारे मंगलबार विवरण माग गरेको छ तर यो समाचार तयार पार्दासम्म समितिमा विवरण उपलब्ध भइसकेको छैन । विवरण उपलब्ध गराउने समय शुक्रबार सकिँदैछ ।

नागरिकता  प्रमाणपत्रको प्रतिलिपि निकालेर त्यसमा उमेर सच्याएको  पाइएको छ भने शैक्षिक योग्यताको प्रमाणपत्रमा पनि गम्भीर आशंका पैदा भएको छ । उनी नेकपाको केन्द्रीय सदस्यमा बहाल नै छन् ।

संसदीय समितिमा रहेको नागरिकताको प्रतिलिपिअनुसार उनको जन्ममिति २०३० साल असोज २४ गते हो तर जिल्ला प्रशासन कार्यालय, काठमाडौंको ढड्डा (अभिलेख) मा भने उनको जन्ममिति २०३७ असोज २४ रहेको पाइएको छ । उनले ०५५ सालमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिएका थिए । उनको नागरिकताका लागि काठमाडौं महानगरपालिकाका तत्कालीन उपमेयर विदुर मैनालीले सिफारिश गरेका थिए । त्यसमा पनि उनको स्थायी ठेगाना काठमाडौं–१९ नै रहेको छ । त्यसको प्रतिलिपि २०६४ सालमा निकालेको विवरण सुनुवाई समितिसँग छ । प्रतिलिपि निकाल्दा उमेर सात वर्ष बढाएर २०३० साल गरिएको खुल्न आएको छ । 

‘नियुक्त हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको’ व्यक्ति मात्र आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्त हुन योग्य हुने कानूनी प्रावधान छ । नेकपाको ४४५ सदस्यीय केन्द्रीय कमिटीको सूचीमा उनको नाम ३७९ नम्बरमा छन् । तथापि उनले काठमाडौंप्रेससँगको संक्षिप्त कुराकानीमा ‘पार्टीबाट राजीनामा दिइसकेको’ दाबी गरे । 

सुनुवाई समितिको बैठकले उनको पारिवारिक विवरण समेत खुल्ने गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग नागरिकताबारे विस्तृत विवरण माग गरेको छ । उनले ०५५ सालमा वडा नम्बर १९ (वसन्तपुर क्षेत्र) का स्थायी बासिन्दा भनी नागरिकता लिएका थिए । हाल उनले कामनपा–९, सिनामङ्ललाई स्थायी ठेगाना बताउने गरेका छन् ।

संवैधानिक परिषद्ले गत भदौ ५ गते गोरखापत्रमा सूचना प्रकाशित गरी योग्यता पुगेका व्यक्तिको सूची तयार पार्न एकैपटक आठ वटा संवैधानिक आयोगको पदाधिकारी नियुक्तिका लागि एक साताको म्याद दिएर दरखास्त अह्वान गरेको थियो । उक्त दरखास्त आह्वान गर्दा अन्सारीले पेश आफैं पेश गरेको नागरिकताको प्रतिलिपि अनुसार पनि उमेर पुगेको देखिँदैन ।

समितिले उनको शैक्षिक योग्यतामा पनि आशंका व्यक्त गरेको छ । सुनुवाई समितिमा उनको स्नातक तहको मात्र प्रमाणपत्र छ । भारतको बिहार राज्यको मगध विश्वविद्यालयअन्तर्गत पटनाको एक कलेजबाट समाजशास्त्रमा सन् २००४ मा प्रथम श्रेणीमा अनर्स गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट त्यसको इक्विभ्यालेन्ट (समकक्षता) प्रमाणपत्र चाहिँ १४ वर्षपछि २०७५ साल कात्तिकका मात्र निकालेको छ । त्यो यसै नियुक्तिका लागि मात्र निकालेको हो कि भन्ने आशंका समितिको छ । 

संवैधानिक परिषद्ले एक महिनाअघि माघ ६ गते उनलाई मुस्लिम आयोगको अध्यक्षमा सिफारिश गरेको थियो । परिषद्ले माघ १० गते उनलाई नियुक्तिका लागि सिफारिश गरेको पत्र सुनुवाई समितिमा पठाएको हो । गत  स्थानीय चुनावअघिसम्म उनी मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीका नेता थिए । चुनावको मुखमा उनी तत्कालीन नेकपा (एमाले) मा प्रवेश गरे । त्यसपछि सो पार्टी हुँदै नेकपाको केन्द्रीय सदस्य बने ।

प्रकाशित मिति: १६:०७ बजे, बिहीबार, फागुन ९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्