रुकुम सोती नरसंहारका पीडित परिवारलाई न्याय माग्दै काठमाडौंमा खबरदारी सभा

काठमाडौं, मंसिर १८ : रुकुम सोती नरसंहारका पीडित परिवारको न्यायको निम्ति भन्दै काठमाडौंमा खवरदारी सभा आयोजना गरिएको छ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ भइरहँदा जात व्यवस्था उन्मूलन मोर्चा नेपालले काठमाडौंको रत्नपार्कमा खवरदारी सभा आयोजना गरेको हो।
साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दा टुङ्गो नलाग्दा पीडित परिवार थप पिडामा परेको भन्दै खवरदारी सभाको आयोजना गरिएको जात व्यवस्था उन्मूलन मोर्चा नेपालकी महासचिव रुपा सुनारले जानकारी दिए। रुकुम जिल्ला अदालतमा अन्तिम सुनुवाई भइरहेको अवस्थामा पीडित परिवारलाई न्याय दिनुपर्ने उनले बताए।
खवरदारी सभामा सहभागीहरुले रुकुम सोती नरसंशारका पीडित परिवारहरुलाई न्याय दे, न्याय नमार लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका बेला स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए। ६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो।











-(1)-1752494016.png)