Kathmandu Press

एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले अझै दिएन जवाफ

एनसेलको शेयर खरिद बिक्री सम्बन्धी आधिकारिकता, शेयर खरिद बिक्री गर्दा नेपालको कानुनी व्यवस्था परिपाल भए नभएको भन्दै समितिले पत्रमार्फत प्रश्न गरेको हो।
एनसेलको सेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियटाले अझै दिएन जवाफ

काठमाडौं, मंसिर १८ : प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको ८० प्रतिशत सेयर बिक्रीप्रति आशंका व्यक्त गरेको छ।

समितिले एनसेलको सेयर बिक्रीमा कर छलि भएको आशंका गर्दै आइतबार आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ। एनसेलमा रहेको आजियटा समूहको सेयर खरिद बिक्री वा स्वामित्व हस्तान्तरण भएको सम्बन्धमा समितिले प्रश्न गरेको हो।

समितिले आफ्ना प्रारम्भिक जिज्ञासा भन्दै नौ बुँदामा नियामक निकायसँग जबाफ माग गरेको छ। एनसेलको शेयर खरिद बिक्री सम्बन्धी आधिकारिकता, शेयर खरिद बिक्री गर्दा नेपालको कानुनी व्यवस्था परिपाल भए नभएको भन्दै समितिले पत्रमार्फत प्रश्न गरेको हो।

आजियाटाले दोहोरो कर, नियमनमा अनिश्चितता र नेपालमा वैदेशिक लगानीलाई संरक्षण गर्ने वातावरण नभएको पनि समितिले जिकिर गर्दै सोधेको छ,  ‘एनसेलको सेयर बिक्रीले नेपाललाई पर्न सक्ने प्रतिकूल प्रभाव के हुन्? त्यहाँको धारणा के हो?’

सेयर धनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान पूरा नगरेको समितिको ठहर छ।

गत हप्ता मात्र एनसेलमा रहेको आफ्नो स्वामित्वको शेयर सस्तैमा सल्टाएर मलेसियाको टेलिकम कम्पनी आजिआटा नेपालबाट बाहिरिएको थियो। आजिआटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेर नेपालबाट बाहिरिएको थियो।

आजिआटा कम्पनीले सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको एनसेलको सेयर ५ करोड अमेरिकी डलरमा बेचेको हो।

नेपालको आर्थिक अवस्था दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको आजिआटाको भनाइ थियो। तर अर्थविद्हरुले आजियाटाले पूँजिगत लाभकर छल्ने काम गरेको बताएका छन्।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेयर खरिदबिक्री सम्बन्धी जानकारी माग गरेको थियो। जसको जबाफ आजियटाले अझै दिएको छैन।

यस्ता छन् सार्वजनिक लेखा समितिको नौ प्रश्न :

१. आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत (सम्पूर्ण सेयर) स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको विज्ञप्ति जारी भएको देखिन्छ । त्यसको आधिकारिकता के हो?

२. एनसेलको विदेशी होल्डिङ कम्पनीको स्वामित्वमा रहेको कम्पनीको सेयर खरिद–बिक्री वा हक हस्तान्तरण गर्दा कम्पनीले सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने के हो?

३. सेयर खरिद–बिक्री वा नामसारी गर्नुपूर्व दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान पूरा भएको छ वा छैन? परिपालना नभएको अवस्थामा कानुनबमोजिम के कारबाही हुन्छ?

४. यसअघि भएको कारोबारभन्दा निकै कम मूल्यमा सेयर कारोबार हुनुको कारणलाई नियमनकारी निकायले कुन रूपमा लिएको छ?

५. आजियाटाले दोहोरो कर, नियमनमा अनिश्चितता र नेपालमा वैदेशिक लगानीलाई संरक्षण गर्ने वातावरण नभएको जिकिर गरेको छ । एनसेलको सेयर बिक्रीले नेपाललाई पर्न सक्ने प्रतिकूल प्रभाव के हुन्? त्यहाँको धारणा के हो?

६. नेपालबाहिर यसरी स्वामित्व हक हस्तान्तरण हुँदा कम्पनीले सरकारलाई तिर्नुपर्ने कर के हुन्छ? करदाता (ठूला करदाता भएकाले)ले सेयर बिक्रीसहित यति रकम तिर्छु भनी स्वघोषणा गरेको छ वा छैन? यस्तोमा आन्तरिक राजस्व विभागले ‘जियोपार्डी एसेसमेन्ट’ गर्ने गरेको छ वा छैन?

७. पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवाप्रदायक कम्पनी दुई वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत भई सेयर कारोबार गर्न धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्छ । तर, एनसेल बोर्डमा सूचीकृत भएको देखिँदैन । उसको सेयर कारोबारको प्रकृति हेर्दा प्राइभेट कम्पनीको जस्तो कारोबार भएको देखिन्छ, यस सम्बन्धमा सम्बन्धित निकायको भनाइ के छ?

८. नेपालको कर प्रणाली छलेर भएको सेयर खरिद–बिक्री नियमनकारी संस्थाहरूलाई जानकारी नै नदिई भएको सुनिन आएको छ । यो खरिद–बिक्री प्रक्रिया र पारदर्शितामाथि नियमनकारी निकायको के भनाइ छ?

९. ६ वर्षपछि सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै त्यसलाई असर पर्न सक्ने गरी भएको कारोबारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने–नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाइ के छ? नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा कारोबारको वैधानिकता के हुन्छ?

 

प्रकाशित मिति: ११:३३ बजे, सोमबार, मंसिर १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्